कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’

  २०७६ फागुन २८ गते १४:४५     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगार गन्तव्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएसँगै रेमिट्यान्समा प्रभाव पर्ने देखिएको छ । नेपालको अर्थतन्त्रको मूल आधारको रुपमा रहेको रेमिट्यान्स आय घट्ने देखिएको हो ।

रोजगारीको गन्तव्य मुलुकमा कोरोना संक्रमणसँगै त्रासका कारण कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था आएको छ । कम्पनी नै बन्द हुँदा नेपालीको रोजगारी गुम्ने र कोरोना संक्रमको शंका तथा प्रभावका कारण पनि बैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी घट्ने देखिएको हो ।

कोरोना असरको कारण नेपालमा भित्रने रेमिटान्स घट्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ । नेपालमा आउने रेमिटान्समध्ये करिब ५० प्रतिशत खाडी देशबाट आउने र ती देशमा कोरोना प्रभाव देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘नेपाल आउने रेमिटान्समा करिब ५० प्रतिशत खाडी देशबाट आउने गरेको छ, यसमा पनि सबैभन्दा धेरै रेमिटान्स आउने कतारबाट हो, कतार नेपालसहितका विदेशी कामदार लिन बन्द गरेको कारण रेमिटान्स कम हुने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख समेत रहेका डा. भट्टले भने ।

कोरोना प्रभाव देखिनु अघि नै नेपालमा आउने रेमिटान्सको बृद्धिदर करिब स्थीर रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म गत आर्थिक वर्षको तुलनामा ०.९ प्रतिशतले मात्रै रेमिटान्स बढेको छ । यस्तो अवस्थामा कोरोना प्रभावले बैदेशिक रोजगारी संकटमा पर्ने हुँदा रेमिटान्स आय घट्ने अनुमान अधिकारीहरुको छ ।

अहिलेसम्म विश्वका १ सय १० देशमा कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेको छ । तर, नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएको फेला परेको छैन ।

वैदेशिक रोजगारीमा जान रोक लगाएका मुलुकबाट नै आधाभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ । केही दिन अगाडी कतार जानकै लागि करिब ३५ हजार नेपाली कामदारको भिसा आइसकेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । कोभिड १९ को संक्रमण बढेसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई देश भित्रिन रोक लगाएको छ । साउदीलगायत अधिकांश देशहरुले अन्तराष्ट्रिय उडान अवतरणमा रोक लगाएका छन् ।

नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरु कतार, साउदी अरब, बहराइन, जापान, दक्षिण कोरिया, कुवेत जस्ता देशले विदेशी कामदार लिन रोकिसकेका छन् । गत वर्ष मात्र ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए ।

गत वर्षको तथ्यांक हेर्दा बढी रेमिट्यान्स (करिब १८ प्रतिशत) कतारबाट भित्रिएको छ भने यएईबाट १३.४ प्रतिशत, साउदी अरेबिया १२.५ प्रतिशत, मलेसियाबाट ९.७ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, छिमेकी राष्ट्र भारतबाट करिब १४ प्रतिशत रेमिटान्स भित्रिएको थियो । वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको देशमा कोरोनाको प्रभाव बढेसँगै देशको आर्थिक खम्बाको रुपमा रहेको रेमिट्यान्सको अवस्थामा कमी आउनेछ ।

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा मात्र ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.