चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

  २०७६ माघ १६ गते १७:०१     विकासन्युज

काठमाडौं ।  यतिखेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहाेल तातेकाे  छ । वर्तमान कार्यसमितिकाे   कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो ।

केही आकांक्षीहरुले चुनावका लागि आफ्नो उम्मेद्वारी घोषणा नै गरेर भेटघाटलाई तीव्र बनाएका छन् भने कोही चाहिँ औपचारिक उम्मेद्वारी घोषणा नगरी छलफलमा जुटेका छन् ।

आगामी चैतमा हुने ५४औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् ।

तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ ।

यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु, ओखलढुङ्गा उद्योग वाणिज्य संघका  अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन कुमार राईलाई सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा पहिलेकाे जस्तै ठूला घराना मात्र नभई सर्व साधरण उद्योगी व्यवसायीको हक हितका लागि  नेतृत्व चाहिने धारणा राखेका छन् ।

भन्सार महसुल कम गराउन भूमिका खेल्ने नेतृत्व हामीलाई चाहिन्छ

ईश्वर चिपालु, अध्यक्ष, इलाम उद्योग वाणिज्य संघ

नेपालको अर्थतन्त्र सुधार गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो समय सरकार र निजी संघ संस्थाहरु पनि नारा लिएर मात्र अगाडि बढ्ने चलन छ । यो अवस्थालाई सुधार गर्ने खालको नेतृत्व आवश्यक छ । यी विविध समयाहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक छ । र त्यो खालको नेतृत्व अब हामीलाई चाहिन्छ । एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् । यी समस्याहरुलाई बुझेर सबै व्यवसायीहरुलाई अगाडि लिन सक्ने नेतृत्व हामीलाई चाहिन्छ ।

अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बैंकले लिने ब्याज हो । सबैभन्दा पहिले नेपाल राष्ट्र बैंकले बैंकले उद्योगी व्यवसायीहरुलाई लिने ब्याजको दर निश्ति तोक्नु पर्यो । समय समयमा बढाएर समस्यामा पार्नु हुँदैन । यो समस्यालार्ई समाधान गर्ने नेतृत्व हामीलाई चाहिन्छ । राष्ट्र बैकले बैंकहरुलाई कति प्रतिशतमा ब्याज लिन पाउँछन् त्यो नीति बनाउनु पर्छ । राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन भन्ने नीति ल्याउनु पर्छ ।

सबै व्यवसायीको साझा घर सम्झिने खालको महासंघ बनाउने नेतृत्व आजको आवश्यकता हो
दिपक नेपाल, अध्यक्ष, पाँचथर उद्योग वाणिज्य संघ

उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले पहाडी जिल्ला लगायतका ग्रामिण भेगका उद्योगी व्यवसायीका समस्याहरु पनि बुझ्ने प्रयास गर्नेछ भन्ने हाम्रो आशा छ । अहिले सम्मका नेतृत्वहरुले साना व्यवसायी तथा उद्योगीहरुका समस्याहरु समाधान गर्ने तर्फ त्यति ध्यान दिएको अवस्था छैन । अहिलेसम्मका नेतृत्वहरुले देशको निर्यात आयातमा मात्र ध्यान दिएको देखिन्छ ।

कतिपय युवाहरु स्वरोजगार हुने हिसाबले पनि व्यवसाय गरिरहेका छन् । अबको नेतृत्वले नेपालका सबै उद्योगी व्यवसायीहरुलाई समेटेर सबैको उद्योग वाणिज्य महासंघ बनाउन आवश्यक छ । यो विषयमा पनि महासंघले आफ्नो धारणा बनाउन आवश्यक छ ।

 

बैंकको व्याजदर घटाउने नेतृत्व चाहिन्छ
ज्ञानेन्द्र कुमार मास्के, अध्यक्ष, ओखलढुङ्गा उद्योग वाणिज्य संघ

उद्योग वाणिज्य महासंघको भावी नेतृत्वले बैंकमा परेको समस्या समाधान गर्ने छ भन्ने आशा लिएका छौं । पहिले एउटा ब्याजदर तोक्छ फेरि बिचबिचमा बढाउँछ । यसले सबै व्यवासयीहरुलाई समस्या परिरहेको अवस्था छ । पहिले ९ प्रतिशत भनेर लिएको ऋण पछि १४/१५ प्रतिशत तिर्नु पर्ने अवस्था छ । ट्याक्स भ्याट वान डोर सिस्टमबाट जानु पर्यो । उहाँहरुले सहि काम गरेर जिल्लामा परेका समस्याहरुलाई समाधान गर्न सक्नु पर्दछ । सरकारसँग समन्वय गरेर अगाडि बढ्न सक्नु पर्छ ।

हामी जुन सिस्टममा छौं त्यही सिस्टममा जानु पर्ने हुन्छ । तीनै तहले लिइरहेको ट्याक्स सिस्टम बन्द गरेर वान डोर सिस्टम लागु गरे देश आर्थिक गतिमा पनि अघि बढ्छ । आगामी नेतृत्वले यही समस्यालाई समाधान गर्नेछ भन्ने आशा लिएका छौं ।

ठूला घरानाको मात्र होइन सबै उद्योगी व्यवसायीको महासंघ
उपीन कुमार राई,अध्यक्ष, खोटाङ उद्योग वाणिज्य संघ

नेपाल उद्योग वाणिज्य महासंघको आउने नेतृत्वले साना तथा मझौला उद्योगी व्यवासयीका पीर मर्का र समस्याहरु बुझोस् । कुरा सुने मात्र हुन्थ्यो भन्ने हाम्रो चाहना छ । अहिले सम्मको नेतृत्वहरु ठूला घराना र उद्योगी व्यवसायीहरुको मात्र जस्तो हामीलाई महसुस भएको छ । उनीहरुकै हातमा मात्र महासंघ छ । हामी जस्तो दुर दराजमा रहेका व्यवसायीहरुका लागि यो जल्दोबल्दो समस्या हो ।

यो समस्यालाई उठाई दिने सुनिदिने सम्बन्धित निकायसम्म पुर्याई दिने नेतृत्व हामीलाई चाहिएको छ । विगतका नेतृत्वहरुले हामी विकट ठाउँमा व्यवसायीहरुका समस्याहरु राष्ट्रिय स्तरमा लिएको अवस्था छैन । हामीले आफ्नो ठाउँबाट आवाज उठाएका छौं । तर, त्यसलाई सरकारसमक्ष पुर्याउने नेतृत्व हामीले पाउन सकेका छैनौं ।

महासंघ जुन किसिमले सबैलाई लिएर अगाडि जानु पर्ने थियो त्यो अवस्था हामीले अहिलेसम्म महसुस गरेका छैनौं । भन्सारमा महसुल बढी भएकोले नेपालको भन्दा भारतीय बोर्डरहरुमा बढी बजार स्थापित भएका छन् । नेपालका बजार दैनिक घट्दै गइरहेका छन् । मान्छेले चोरी निकासी गर्छ । अर्थतन्त्रको विकास गर्नका लागि भन्सार भाउ घट्नु पर्छ ।

सम्बन्धित समाचारः

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्