चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ

  २०७६ माघ १४ गते ९:२५     विकासन्युज

काठमाडाैं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।

तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ ।

यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, मोरङ उद्योग संघका अध्यक्ष भिम प्रसाद घिमिरे, उद्योग वाणिज्य संघ इनरुवा सुनसरीका अध्यक्ष बिरेन्द्र कुमार शाह र भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष धुर्बलाल श्रेष्ठलाई सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य गरेर ऐन नियममा सहज गरोस् भन्ने धारणा राखेका छन् ।

जिल्ला नगरहरुका व्यवसायीलाई पनि समेट्ने नेतृत्व चाहिन्छ

गोकुल श्रेष्ठ दमक, अध्यक्ष, दमक झापा

नेपाल उद्योग वाणिज्य महासंघले एसोसिएटलाई मात्र नभएर जिल्ला नगरका व्यवसायीलाई पनि ध्यान देओस् । महासंघको अबको आउने नेतृत्वले एसोसिएटहरुको मात्र कुरा नसुनोस् भन्ने मेरो धारणा रहेको छ । सबै उद्योगी व्यवसायीहरुलाई एकसाथ लिएर अगाडि बढ्नेछ भन्ने पनि हाम्रो अपेक्षा छ । हालसम्मका नेतृत्वहरुले त्यति धेरै काम गर्न सकेको अवस्था छैन । यसका लागि अबको नेतृत्वले विशेष गरी सबै व्यवसायीको छाता संगठन भएको आभास गराओस् । आगामी दिनमा उद्योग वाणिज्य संघहरुलाई पनि समेटेर अगाडि बढ्ने छ भन्ने आशा पनि छ ।

अबको नेतृत्व सरकारको असल सल्लाहकार बनोस्

भिम प्रसाद घिमिरे,अध्यक्ष, मोरङ उद्योग संघ

नेपाल उद्योग वाणिज्य संघको नेतृत्व स्वच्छ विचार धाराको भएको आउनु पर्छ । सबै उद्योगी व्यवसायीहरुको हितका लागि काम गरोस् । सरकारको असल सल्लाहकारका रुपमा काम गर्न सक्ने हुनु पर्छ । महासंघ एउटा नेतृत्वदायी संस्था भएपनि त्यसले आफ्नो काम गर्न सकेको मैले देखेको छैन । हामी उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् ।

अहिले धेरै ऐन मोनोपोली छन् । ती ऐन ल्याउँदा प्रयाप्त छलफल गरेर ल्याउँदा राम्रो हुने थियो । यसका लागि प्रयाप्त छलफल नपुगेको हो की भन्ने पनि छ । यस्ता खालका ऐन आउँदा सरकारसँग वार्ता तथा छलफल गरेर उद्योगी व्यवसायीको हितमा काम गर्ने नेतृत्व हामीलाई चाहिन्छ ।

साना तथा मझौला व्यवसायीहरुको पीडा बुझ्ने खालको होस्
बिरेन्द्र कुमार शाह, अध्यक्ष, उद्योग वाणिज्य संघ इनरुवा सुनसरी

नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यापारीहरुको समस्या बुझ्ने खालको हुनु पर्छ । अहिले सम्मको नेतृत्वले उद्योगीहरुका मात्र कुरा सुनेको अवस्था छ । त्यो नभएर वाणिज्य र उद्योगीका कुराहरु सुन्ने नेतृत्व अब आउनु पर्छ । बैंकमा ऋण पाउन सहज वातावरण गर्ने हुनु पर्छ । करको दायरा व्यवसायी तथा उद्योगीका लागि सहज वातावरण सिर्जना गर्ने खालको नेतृत्वले यो काम गर्न सक्नु पर्छ ।

आजसम्मका नेतृत्वले वाणिज्य क्षेत्रका काम नगरेको अवस्था छ । वाणिज्य क्षेत्रका व्यवसायीले आफ्नै हिसावले काम गरेको अवस्था छ । नेपालमा भारतीय नाकाबाट सामान आउँछ । त्यसको लागि भन्सारमा कडाई गर्नु पर्यो । यो प्रति आउने नेतृत्वले ध्यान दिनु पर्यो ।

 

व्यवसायीको हित विपरीत ल्याइएका ऐन खारेज गर्ने नेतृत्व चाहिन्छ

धुर्बलाल श्रेष्ठ , अध्यक्ष, भोजपुर उद्योग वाणिज्य संघ

अहिले सरकारले व्यवसायी विपरीत धेरै नियमावली ल्याएको छ । आउने नेतृत्वले ती ऐन खारेज हुनु पर्छ भन्ने हाम्रो माग छ ।

व्यवसायीको हति विपरीत हुने ती नीति नियमहरुलाई परिमार्जन गर्ने, निजी क्षेत्रमैत्री नीति नियम बनाउने खालको नेतृत्व हामीलाई चाहिन्छ ।

अहिले धेरै जिल्ला नगर संघहरु ती ऐनप्रति सन्तुष्ट छैनन् । त्यसलै त्यसकारण अब आउने नेतृत्वले ती कानुनलाई खारेजी गरेर व्यवसायीको हकमा वकालत गरोस् भन्ने हो ।

सम्बन्धित सामग्री

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.