चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

  २०७६ माघ ९ गते १४:५८     विकासन्युज

काठमाडाैं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।

तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ ।

यसैकारण महासंघका सदस्यहरुले अवको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न प्रदेश–२ अध्यक्ष शिवशंकर साह,बाग्मती प्रदेशकाका अध्यक्ष दिनेश श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव कोइराला र कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीसँग राखेका छौं । उनीहरुले समग्रमा अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकाेस् भन्ने धारणा राखेका छन् ।

अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् 

शिवशंकर साह,अध्यक्ष, प्रदेश–२

सिँह दरवार जसरी विकेन्द्रिकरण भयो त्यसरी नै नेपाल उद्योग वाणिज्य महासंघले पनि आफ्नो शक्ति विकेन्द्रित गरोस्  । विभिन्न नीति नियम ल्याएर सरकारले व्यवसायीहरुलाई समस्या पारिरहेको छ ।

यो समग्र व्यवसायीका लागि पीडादायी छ । ती नीति नियमलाई सरल बनाउन सरकारसँग कडा रुपमा वार्ता गरेर उद्योगी व्यवसायीमैत्री नीति ल्याउनु अबको नेतृत्वले भूमिका खेलोस् ।

नीति नियम बन्दा नीजि क्षेत्रको सल्लाह सरकारले लिनु पर्ने वातावरण अबको नेतृत्वले सिर्जना गरोस् । अबको नेतृत्वले त्यो किसिमको वातावरण सिर्जना गर्नेछ भन्ने हामीले आशा लिएका छौं ।

महासंघले हालसम्म त्यस्तो उल्लेखनिय काम गरेको महसुस हामीले गरेका छैनौं ।

नीतिगत समस्या समाधान गर्ने नेतृत्व आजको आवश्यकता हो  

अध्यक्ष दिनेश श्रेष्ठ, अध्यक्ष, बाग्मती प्रदेश

बाग्मती देशकै संघिय राजधानी भएको प्रदेश हो । यो प्रदेशको सबै जिल्लामा धेरै साना तथा मझौला उद्योगी व्यवसायीहरु छन् । सबैभन्दा बढी उद्योग व्यवसाय बाग्मतीमान नै बढी छन् । अहिले उद्योगी व्यवसायीहरुका नीतिगत र कानुनी समस्याहरु धेरै छन् । ती समस्याहरु समाधान गर्ने, राज्य कहाँ लिएर वार्ता गर्ने नेतृत्व हामीलाई चाहिएको छ ।

व्यवसायीको हति विपरीत हुने ती नीति नियमहरुलाई परिमार्जन गर्ने, निजी क्षेत्रमैत्री नीति नियम बनाउने खालको नेतृत्व हामीलाई चाहिन्छ । अहिले धेरै जिल्ला नगर संघहरु सन्तुष्ट छैनन् । त्यसकारण अब आउने नेतृत्व अहिलेको जस्तो नेतृत्व नहोस् भन्ने चाहना हो । व्यवसायीले अनुभूति गर्ने खालका काम अहिले भइराखेको अवस्था छैन ।

राज्यपनि कानुनी निर्माणमा बढी समय दिई रहेको छ । ती कानुन हामीसंग समन्वय नभएर बनि रहेका छन् । हामीले अब आउने नेतृत्वबाट बन्ने कानुनमा हामीलाई पनि सहभागी गराएर कानुन बनाउने वातावरण सिर्जजना गर्नतर्फ लागोस् भन्ने हाम्रो अपेक्षा हो ।

अहिले आइरहेको औद्योगिक व्यवसाय ऐन,उपभोक्ता हित संरक्षण ऐन राज्यले सबै काम गर्ने भन्ने कुरा भइरहेको छ । त्यसमा निजी क्षेत्रले के काम गर्ने भन्ने कुरा हुनु पर्यो । मूल्य निर्धारण गर्ने कुरा राज्यले गर्ने भनिएको छ । त्यसको लागि अगाडि व्यवसायी र राज्य बसेर मूल्य कति निर्धारण  गर्ने भन्ने निक्र्योल गर्नु पर्यो । द्धिअर्थी लाग्ने धेरै कानुन निर्माण भएका छन् । ती ऐन कानुनहरुलाई व्यवसायीमैत्री बनाउन अब आउने नेतृत्वले भूमिका खेल्न सकोस् ।

 अबको नेतृत्वले राजनीतिक चलखेल बन्द गरोस् 

सञ्जिव बहादुर कोइराला, अध्यक्ष,गण्डकी प्रदेश

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । यसलाई कमजोर बनाउनका लागि सरकारले अन्य संस्थाहरुलाई महत्व दिइरहेको छ । यसलाई खण्डिकरण गर्यो भने भोली निजी क्षेत्रको आवाज बुलन्द हुन सक्दैन भनेर सरकार निजी क्षेत्रलाई कमजोर बनोउने खेलमा छ । यस्तो खेललाई अन्त्य गर्न सक्ने नेतृत्व अब आउनु पर्छ । हाम्रो यही अपेक्षा हो ।

संंस्था खोल्नु ठूलो विषय होइन ।  त्यो संस्था भित्र सदस्य कति छन् ? त्यो संस्थाको सांगठनिक स्वरुप कस्तो छ भन्ने अवस्था बुझेर त्यो मान्यता दिन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । नेपालमा ठूला व्यवसायीहरु जो आयात र निर्यात गर्छन् ति व्यवसयाहरु अर्थमन्त्रालयको नजिक बसेर आफु अनुकुलको ऐन बनाउन तल्लीन हुन्छन् त्यसको अन्त्य अबको नेतृत्वले गरोस् ।

अबको नेतृत्वले सरकारसँग लविङ गर्न सकोस्

पदम बहादुर शाही , अध्यक्ष ,कर्णाली प्रदेश

सर्वप्रथम अब आउने नेतृत्वले सरकारसँग लविङ गर्न सकोस् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं ।

अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ ।

सम्बन्धित समाचारः

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.