तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

  २०७६ माघ ७ गते १६:२३     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अवको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न प्रदेश–१ अध्यक्ष नरेन्द्रकुमार खड्का, प्रदेश–५ का अध्यक्ष गुणनिधि तिवारी र सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकरबहादुर बोगटीसँग राखेका छौं । उनीहरुले समग्रमा साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) प्रबद्र्धन गर्ने सोच र योजना भएको नेतृत्व अहिलेको आवश्यकता हो भनेका छन् ।

सरकारसँग समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ,
नरेन्द्रकुमार खड्का, अध्यक्ष, प्रदेश–१

निजी क्षेत्रलाई मर्यादित र सम्मानित बनाउने खालको नेतृत्व हामीलाई चाहिँन्छ । महासंघले उद्योग सञ्चालन गर्ने आधार खडा गर्नुपर्छ । समस्या सबै व्यवसाय र उद्योगहरुमा छन् । ती समस्यालाई सरकारसँग सम्वादबाट समाधान गर्नु मूख्य कुरा हो । व्यवसायी र उद्योगहरुका समस्या सरकारले बुझ्ने प्रयास गरिहेको छैन । यसको कारण साना तथा मझौला व्यवसायीहरु पलायन हुने अवस्थामा पनि छन् ।

देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र र सरकारबीच समन्वयको वातावरण सिर्जना गर्न सक्नुपर्छ । यस्तो खालको नेतृत्व हामीलाई चाहिएको हो । निजी क्षेत्र बुझेको, महासंघ बुझेको नेतृत्व हामीलाई चाहिन्छ । सरकारका हरेक गतिविधि र क्रियाकलापसँग जानकार नेतृत्व हामीलाई चाहिन्छ । त्यो नेतृत्वले हामी सबै तहतप्कामा रहेकाहरुलाई काम गर्र्न सहज वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

प्रदेश–५ लाई उच्च महत्व दिने नेतृत्व चाहियो,
गुणनिधि तिवारी, अध्यक्ष, प्रदेश– ५

आगामी अध्यक्ष शेखर गोल्छाजी हुनुुहुन्छ । वरिष्ठ उपाध्यक्षका लागि पनि हामी सर्वसम्ममत रुपमा अगाडि बढ्ने प्रयासमा छौं । सबैलाई मिलाएर लैजान सक्ने खालको नेतृत्व हामीलाई चाहिन्छ ।

अबको नेतृत्वले निजी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने भूमिका रहन्छ । सातै प्रदेशमध्येमा प्रदेश–५ सबैभन्दा राम्रो प्रदेश हो । यो प्रदेश एउटा भर्जिन ल्याण्ड पनि हो । यसमा सम्भावना धेरै छन् ।

विगतमा धेरै बन्द हड्ताल हुँदा पनि प्रदेश पाँचमा कुनै असर परेन । यहाँका सम्पूर्ण नागरिक र राजनीतिक दलले सहयोग गरे । अहिले स्थानीय र प्रदेश सरकार पनि छ । यसबाट पनि प्रदेशको विकास गर्न सघाउ पुग्छ । आउने नेतृत्वले विशेष गरेर यो प्रदेशको कृषिमा बढी फोकस गर्नु पर्ने देखिन्छ । यी सबै पक्षहरुलाई अगाडि लिई सरकारसँग समन्वय गर्नु हाम्रो उत्तरदायित्व रहन्छ ।

यो प्रदेश कृषि र पर्यटनको विविधता भएको प्रदेश हो । यो एउटा मिनी नेपालको संरचनामा छ । यसलाई सपोर्ट गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । हाम्रो प्रदेश गौतमबुद्ध जन्मेको प्रदेश हो । भारतसँग जोडिएका भन्सार नाकाहरु सबैभन्दा धेरै यही प्रदेशमा छन् । यो प्रदेश भारतबाट पनि नजिक भएकोले अबको नेतृत्वले प्रदेश–५ लाई लक्षित गरेर अगाडि बढ्ने हो भने समग्र देशको विकासमा टेवा पुग्छ ।

पूर्वदेखि पश्चिमसम्मका लागि यो प्रदेश भौगोलिक रुपमा केन्द्रमा पर्छ । हालसम्मको नेतृत्वले पनि प्रदेश–५ लाई धेरै महत्व दिएका छन् । अबको नेतृत्वबाट पनि यही अपेक्षा हो । यसपालि मेरो पनि जिल्ला नगर क्षेत्रबाट उपाध्यक्षको उम्मेदवारी रहन्छ । यसमा टिमवर्कको आवश्यकता छ ।

एसएमईका समस्या सम्बोधन गर्ने नेतृत्व चाहियो
शंकरबहादुर बोगटी, अध्यक्ष, सुदूरपश्चिम प्रदेश

नेपाल उद्योग वाणिज्य महासंघको मूख्य उद्देश्य नै उद्योगी व्यवसायीको हक हितका लागि काम गर्नु हो । तर, पछिल्लो समय महासंघ नै कमजोर भएको अवस्था छ । मूख्य गर्नु पर्ने काम पनि गर्न नसकेको अवस्था छ । हामी सुदूरपश्चिमका सबै क्षेत्रका उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् । यी कुराहरुमा अबको नेतृत्व आइसकेपछि पैरवी गर्नेछ भन्ने आशा छ ।

नेपाल सरकारले समय–समयमा साना तथा मझौला व्यवसाय (एसएमई) का लागि विभिन्न कानुनहरु ल्याउँछ । यसको बारेमा छलफल तथा वार्ता गर्नेखालको नेतृत्व हामीलाई चाहिन्छ । व्यवसायीको हकहितमा काम गर्ने खालको नेतृत्व आओस् भन्ने हो । अहिलेसम्म प्रयास त नभएको होइन । तर, नीति निर्माण गर्ने तहमा सबै कुराहरु छलफल गरेर अझ बढी फोकस गर्नु पर्छ भन्ने हो ।

प्रदेश महासंलाई अझ बलियो बनाउनु पर्ने आवश्यकता छ । नेपाल सरकारले नयाँ नयाँँ कानुन ल्याएको छ, केही कानुनी व्यवस्थाले निजी क्षेत्रलाई अप्ठेरो पारेको पनि छ । यस्ता विषयमा महासंघले समन्वय गर्न सक्नुपर्छ । पदका लागि मात्र नभई व्यवसायीको साझा हकहितका लागि काम गर्ने नेतृत्व आउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.