महाप्रसाद अधिकारी गभर्नर बन्न राष्ट्र बैंक ऐन नै बाधक, यस्तो छ कानुनी व्यवस्था

  २०७६ पुष २८ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको योग्यता नपुग्ने देखिएको छ । भावी गभर्नरको रुपमा अधिकारीको नाम धेरैले लिने गरेपनि उनको शैक्षिक योग्यताको कारण कानुनी अवरोध देखिएको हो ।

आगामी ५ चैतमा वर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल सकिदैछ । त्यसैकारण नयाँ गभर्नर को बन्छ भन्ने वहस सुरु भएको छ । डेपुटी गभर्नरको रुपमा प्रभावकारी काम गरेका, काबिल चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय बजारमा राम्रो छवि बनाएका मृदुभाषी अधिकारीलाई सहभागितामुलक निर्णय प्रक्रियाका हिमायतिका रुपमा पनि चिनिन्छ ।

वित्तीय क्षेत्रले मात्रै होइन, जानकारहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री युवराज खतिवडासमेतको रोजाइमा अधिकारी छन् । यसैकारण पनि अधिकारीलाई भावी गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको थियो ।

तर, अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने अवस्थामा अहिले छैनन् । उनलाई नेपाल राष्ट्र बैंक ऐनले नै गभर्नर बन्न रोक्छ । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा राष्ट्र बैंक संचालकको योग्यता सम्बन्धि व्यवस्था गरिएको छ । सो दफाको उपदफा (ग) मा ‘आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको’ व्यक्ति मात्रै नेपाल राष्ट्र बैंकको संचालक हुन योग्य हुने उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर भनेको संचालक समिति अध्यक्ष हो । यस्तै, डेपुटी गभर्नर पनि संचालक नै हो ।

सोही उपदफामा ‘कार्य अनुभव’को स्पष्टीकरण पनि दिइएको छ । स्पष्टीकरणमा भनिएको छ– ‘यस खण्डको प्रयोजनको लागि ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।’

अनुभवको आधारमा गभर्नर बन्न उनलाई कुनै वाधा अवरोध छैन । तर, कम्तीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्छ भन्ने व्यवस्था उनको लागि अनुकुल छैन ।

अधिकारीले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको भन्ने तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन । उनले लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि पेश गरेको कागजातमा भारतको ‘द इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ इन्डिया’बाट चार्टर्ड एकाउन्टेन्ट, विजनेस एड्मीनीस्ट्रेसन एण्ड म्यानेजमेन्ट तहको अध्ययन गरेको तथा नेपाल कमर्श क्याम्पसबाट व्याचलर्स डिग्री, एड्मीनीष्ट्रेसन एण्ड म्यानेजमेन्ट गरेको उल्लेख गरेका छन् ।

उनले नमुना मछिन्द्र क्याम्पसबाट आईकम गरेका छन् ।

अधिकारीले स्नातकोत्तर तहको अध्ययन पूरा नगरेकोले लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत बन्न नै योग्यता नपुगेको भन्दै सोही समयमा उनी विरुद्ध अदालतमा मुद्दा पनि परेको थियो । सो मुद्दाको फैसला अझै भएको छैन ।

अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।

यसअघि डा. चिरञ्जीवि नेपाल गभर्नर बन्ने बेलामा तत्कालिन डेपुटी गभर्नर गोपाल काफ्लेसँगै अधिकारीको नाम पनि गभर्नरमा सिफारिस भएको थियो । तर, सो समयको सिफारिस उनी डेपुटी गभर्नरको हैसियतमा रहेका कारण थियो । अहिले उनी डेपुटी गभर्नर छैनन् । पूर्वडेपुटी गभर्नर भएकै आधारमा गभर्नर बन्ने योग्यता कानुनले प्रदान गरेको छैन । त्यसैकारण नेपाल राष्ट्र बैंक ऐन अनुसार अधिकारी गभर्नरको सिफारिसमा पर्ने सम्भावना पनि देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.