अमेरिका शीर्ष दुईबाट बाहिरिँदा चीन बन्यो विश्वकै ठूलो नौसैनिक शक्ति

अफ्रिकी मुलुक इजिप्ट र नाइजेरिया शीर्ष २५ मा प्रवेश

काठमाडौं । बलियो नौसेना भएका देशहरूले इतिहासदेखि नै विश्वमा आफ्नो प्रभाव विस्तार गर्दै आएका छन् । ग्लोबल फायरपावर र नेभल डेटाले सार्वजनिक गरेको सन् २०२६ को नौसैनिक शक्ति र्याङ्किङले भने केही आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ ।

समुद्रको गहिराइदेखि सतहमाथिसम्म आफ्नो प्रभाव जमाउने नौसेनाहरूको नयाँ सूचीमा ठूलो फेरबदल देखिएको छ ।

युद्धपोत र पनडुब्बीसहित कुल नौसैनिक जहाजको संख्याका आधारमा विश्व महाशक्ति अमेरिका शीर्ष दुईबाट बाहिरिएको छ । 

चीन र रुसले भने आफ्नो अग्रता कायम राखेका छन् ।

यस वर्षको सबैभन्दा चासोको विषय अफ्रिकी मुलुक इजिप्ट र नाइजेरियाको शीर्ष २५ मा प्रवेश हो । यी दुई देशले धेरै परम्परागत नौसैनिक शक्तिलाई पछि पारेका छन् । 

ग्लोबल फायरपावरको सन् २०२६ को र्याङ्किङअनुसार चीनसँग ८४१ वटा नौसैनिक जहाज छन्, जुन विश्वकै सबैभन्दा ठूलो डुंगाको समूह हो । 

७४७ जहाजसहित रुस दोस्रो र ४६५ जहाजसहित अमेरिका तेस्रो स्थानमा छ ।

रुस र अमेरिकाबीचको अन्तर निकै ठूलो छ । रुससँग अमेरिकाभन्दा २८२ वटा बढी नौसैनिक जहाज छन् । 

यद्यपि, जहाजको संख्या मात्रै हेरेर नौसेनाको वास्तविक क्षमता मापन गर्न भने मिल्दैन । अमेरिका विश्वकै सबैभन्दा आधुनिक र सक्षम नौसैनिक शक्तिमध्ये एक हो ।

भारत ३४३ जहाजसहित चौथो स्थानमा छ । भारतपछि ३३८ जहाजसहित इन्डोनेसिया पाँचौं र ३३२ जहाजसहित उत्तर कोरिया छैटौं स्थानमा छन् ।

त्यसपछि थाइल्यान्ड, इटाली, स्विडेन र श्रीलंका शीर्ष १० मा परेका छन् ।

सन् २०२६ मा विश्वका २५ ठूला नौसैनिक बेडामा अफ्रिकाका दुई देश नाइजेरिया र इजिप्ट पनि परेका छन् । १५२ जहाजसहित नाइजेरिया २२औं स्थानमा छ । ऊ १५८ जहाज भएको जापानभन्दा पछाडि छ । त्यस्तै, १४९ जहाजसहित इजिप्ट २३औँ स्थानमा छ । अर्थात् यी दुई अफ्रिकी देशबीच केवल तीनवटा जहाजको अन्तर छ ।

नाइजेरियाका लागि समुद्री क्षेत्र अर्थतन्त्र र सुरक्षाका दृष्टिले निकै महत्त्वपूर्ण छ । देशको समुद्री क्षेत्रमा तेल तथा ग्याससम्बन्धी ठूलो पूर्वाधार छ । 

साथै नाइजेरिया ‘गल्फ अफ गिनी’को किनारमा अवस्थित छ, जहाँ लामो समयदेखि समुद्री सुरक्षा चुनौतीको विषय बन्दै आएको छ ।

इजिप्टको समुद्री महत्त्व पनि उत्तिकै ठूलो छ । यसको महत्त्व तटीय क्षेत्रभन्दा धेरै परसम्म फैलिएको छ । इजिप्टले स्वेज नहर नियन्त्रण गर्छ, जुन विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक हो र भूमध्यसागरलाई लाल सागरसँग जोड्छ ।

नौसैनिक जहाजको कुल संख्याका आधारमा अमेरिकी नौसेना शीर्ष दुईमा नपर्नु यस र्याङ्किङको सबैभन्दा चासोको विषय हो । अमेरिकासँग ४६५ जहाज छन्, जुन चीन र रुसको तुलनामा निकै कम हो ।

तर जहाजको संख्या मात्रै नौसैनिक शक्तिको वास्तविक मापदण्ड होइन । नौसेनाको क्षमता मूल्याङ्कन गर्दा जहाजको आकार, प्रविधि, हतियार प्रणाली, पनडुब्बी, विमानवाहक युद्धपोत, समुद्रमा लामो समयसम्म सञ्चालन गर्ने क्षमता र विश्वभर सैन्य उपस्थितिजस्ता पक्ष पनि महत्त्वपूर्ण हुन्छन् ।

त्यसैले चीन वा रुसको तुलनामा अमेरिकासँग जहाजको संख्या कम भए पनि अमेरिकी नौसेना विश्वकै अत्याधुनिक युद्धपोत, विमानवाहक पोत र पनडुब्बी सञ्चालन गर्ने शक्तिशाली नौसैनिक बलमध्ये एक हो ।

जहाजको संख्याका आधारमा विश्वका शीर्ष २५ देश

१.चीन -८४१
२.रुस - ७४७
३.अमेरिका- ४६५
४.भारत- ३४३
५.इन्डोनेसिया- ३३८
६.उत्तर कोरिया- ३३२
७.थाइल्यान्ड- ३०४
८.इटाली- २८५
९.स्विडेन- २७९
१०.श्रीलंका- २७५
११.म्यानमार- २३९
१२.दक्षिण कोरिया- २१५
१३.कोलम्बिया- २१३
१४.टर्की- १९२
१५.ग्रिस- १८६
१६.स्पेन- १७५
१७.युक्रेन- १६९
१८.फ्रान्स- १६६
१९.फिनल्यान्ड- १६५
२०.मेक्सिको- १६४
२१.जापान- १५८
२२.नाइजेरिया- १५२
२३.इजिप्ट- १४९
२४.नेदरल्यान्ड्स- १४०
२५.चिली- १३०

Share News