काठमाडौं । यो साता आकाशमा दुर्लभ दृश्य देखिने भएको छ । अगस्ट २७ र २८ (भदौ ११ र १२ गते) को मध्यरातमा लाग्ने आंशिक चन्द्रग्रहणका क्रममा पृथ्वीको छायाले चन्द्रमाको सतहको करिब ९६ प्रतिशत भाग ढाक्ने वैज्ञानिकहरूले जनाएका छन् ।
त्यसबेला चन्द्रमा गाढा रातो रंगमा देखिने भएकाले आकाशमा निकै आकर्षक दृश्य देखिनेछ । पृथ्वीको वायुमण्डलबाट छानिएर र मोडिएर आएको सूर्यको प्रकाश चन्द्रमासम्म पुग्दा त्यसको रंग रातोतर्फ परिवर्तन हुन्छ । यही कारण ग्रहणको समयमा चन्द्रमा सामान्य अवस्थाभन्दा फरक, गाढा रातो देखिन्छ ।
यस्तो दृश्य वैज्ञानिकहरूका लागि अध्ययनको विषय मात्र नभई आकाश अवलोकनमा रुचि राख्ने सर्वसाधारणका लागि पनि विशेष आकर्षण बन्ने गर्छ ।
यो आंशिक चन्द्रग्रहण पूर्णिमाका दिन पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आएपछि लाग्नेछ । त्यसक्रममा पृथ्वीको घना छाया बिस्तारै चन्द्रमाको सतहतर्फ फैलिँदै जानेछ ।
ग्रहणको चरम अवस्थामा चन्द्रमाको अधिकांश भाग पृथ्वीको छायामा पर्नेछ भने पातलो अर्धचन्द्राकार भागमा सूर्यको प्रत्यक्ष प्रकाश परिरहनेछ ।
यो आंशिक चन्द्रग्रहण उत्तरी अमेरिका, दक्षिणी अमेरिका, युरोप र अफ्रिकाका केही भागबाट देखिनेछ । अनुमानित ३ अर्ब ३० करोड मानिसले यो दृश्य अवलोकन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पृथ्वीका विभिन्न स्थानबाट हेर्दा ग्रहणका चरणहरू एउटै समयमा हुने भए पनि स्थानीय समय भने ठाउँअनुसार फरक हुनेछ ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रका लस एन्जलस र पोर्टल्यान्डजस्ता सहरमा सूर्यास्त भएको केही घण्टापछि ग्रहणको प्रभाव उत्कर्षमा पुग्नेछ ।
त्यस्तै, न्युयोर्क र ज्याक्सनभिलजस्ता पूर्वी तटीय सहरबाट हेर्दा मध्यरात आसपास ग्रहणको चरम अवस्था देखिनेछ।
बेलायत, युरोप र अफ्रिकाका केही क्षेत्रमा भने ग्रहण बिहान सबेरै देखिनेछ ।
सूर्योदय हुनुअघि पश्चिमी क्षितिजतर्फ चन्द्रमा झुकिरहेको अवस्थामा ग्रहण अवलोकन गर्न सकिनेछ ।
तर भारत, नेपाल, चीन, जापान र अस्ट्रेलियालगायतका एसियाली तथा अन्य केही देशबाट भने यो चन्द्रग्रहण देखिने छैन । ग्रहण लाग्ने समयमा यी क्षेत्रका धेरै स्थानमा दिनको समय हुने भएकाले आकाशमा चन्द्रमा देखिने अवस्था हुँदैन ।
चन्द्रग्रहणको अर्को विशेषता भनेको यसलाई सूर्यग्रहणजस्तो विशेष सुरक्षा चश्माको आवश्यकता नपरी नाङ्गो आँखाले सुरक्षित रूपमा हेर्न सकिनु हो ।
त्यसैले ग्रहण देखिने क्षेत्रमा रहेका मानिसले सामान्य रूपमा आकाशतर्फ हेरेर यसको अवलोकन गर्न सक्छन् ।
यद्यपि, दूरबिन वा टेलिस्कोपको प्रयोग गर्दा चन्द्रमाको सतह र ग्रहणको दृश्य अझ स्पष्ट रूपमा हेर्न सकिन्छ ।
सूर्य, पृथ्वी र चन्द्रमा एकै सीधामा आउँदा चन्द्रग्रहण लाग्छ । पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आएपछि सूर्यको प्रकाश चन्द्रमामा प्रत्यक्ष रूपमा पुग्न सक्दैन र चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ ।
तर ग्रहणका क्रममा चन्द्रमा पूर्ण रूपमा हराउँदैन। पृथ्वीको वायुमण्डल हुँदै छानिएर र मोडिएर पुगेको सूर्यको रातोतर्फको प्रकाश चन्द्रमामा परेका कारण यो गाढा रातो देखिन्छ ।
यही कारण पूर्ण चन्द्रग्रहणलाई सामान्यतया ‘रक्तिम चन्द्रमा’ अर्थात् ‘ब्लड मुन’ समेत भनिन्छ ।