काठमाडौं । पछिल्ला केही वर्षमा पटक-पटक नर्सहरू सडकमा उत्रिए । लामो ड्युटी, न्यून पारिश्रमिक, अतिरिक्त कामको भार र त्यसअनुसार सेवा-सुविधा नपाउनु उनीहरूका प्रमुख गुनासा हुन् । निजी अस्पतालमा काम गर्ने नर्सहरूको गुनासो समयभन्दा बढी ड्युटी गर्नुपर्ने, तर अतिरिक्त श्रमको उचित सुविधा नपाउनेमा केन्द्रित छ । सरकारी क्षेत्रमा कार्यरत नर्सको पीडा भने फरक छ,समयमै पदोन्नति नहुनु, एउटै पदमा वर्षौं काम गर्नुपर्ने र जिम्मेवारीअनुसार करिअर अघि बढ्न नसक्नु ।
अझ करार दरबन्दीमा कार्यरत नर्सहरूको गुनासो अर्कै छ । उनीहरूले सरकारी दरबन्दीअनुसारको मासिक पारिश्रमिक पाए पनि स्थायी कर्मचारीसरह अन्य सेवा-सुविधा नपाउने अवस्था रहेको बताउँछन् ।
सडकमा आएका नर्सका यस्ता गुनासा सुन्दा धेरैलाई लाग्न सक्छ, नर्सिङ भनेको दुःख धेरै र कमाइ कम हुने पेसा हो । केही नर्सको भोगाइ हेर्दा यो धारणा गलत पनि होइन ।
तर, नर्सिङको कथा यतिमै सकिँदैन । नेपालको सरकारी स्वास्थ्य सेवामा दशकौं बिताएका नर्सहरू भने श्रमअनुसारको पारिश्रमिक र करिअर विकासको अवसर नपाउनु नै ठूलो समस्या भएको बताउँछन् । सरकारी दरबन्दीमा नियुक्त भए पनि एउटै पदमा लामो समय अल्झिरहनुपर्ने र समयमै पदोन्नति नहुने समस्या सरकारी अस्पतालमा कार्यरत नर्सहरूको पुरानै गुनासो हो ।
नेपाल सरकारअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा ३८ वर्ष बिताएकी नर्स बसन्ती थापा नर्सले पाउने पारिश्रमिकसँगै उनीहरूले भोगिरहेका अन्य थुप्रै समस्यालाई पनि हेर्नुपर्ने बताउँछिन् ।
‘दुई-चार जना मन्त्रालयस्तरमा बसेका ठूलो पोस्टका नर्सहरूलाई मात्र हेरेर नर्सको सेवा-सुविधा राम्रो भन्न हुँदैन । सरकारी सेवामा प्रवेश भएर पनि लामो समयदेखि उही पदमा बसिरहने नर्सहरूको पीडा अझ धेरै छ । यही पीडाले गुणस्तरीय सेवा–सुविधा दिन नसकेको अवस्था पनि देशमा छ,’ उनले भनिन् ।
थापाका अनुसार नागरिकको आवश्यकताअनुसार स्वास्थ्य सेवा दिन नेपालमा नर्सिङ जनशक्तिका लागि आवश्यक वातावरण नै बन्न सकेको छैन । नर्सहरूले आफ्नो अधिकार र पेसागत मागका लागि संघर्ष गरिरहे पनि उनीहरू बिरामीको सेवाबाट पूर्ण रूपमा अलग हुने अवस्था भने कल्पना गर्न नसकिने उनी बताउँछिन् ।
‘जति संघर्ष नर्सहरूले गरिरहेका छन्, उहाँहरू सबै चटक्क बिरामी छोडेर निस्कने हो भने एक दिनमै देशको स्वास्थ्य सेवाको हालत के हुन्छ कल्पनासमेत गर्न सकिँदैन। आधा घण्टामात्रै काममा खटिरहेका नर्स बाहिर निस्कने हो भने राज्यले घुँडा टेक्नुपर्छ,’उनले भनिन् ।
तर, थापाको बुझाइमा सरकारी सेवामा प्रवेश गरेका सबै नर्सलाई एउटै डालोमा राखेर हेर्न पनि मिल्दैन । केही नर्सले राम्रो पारिश्रमिक पाइरहेका छन् भने धेरै अझै न्यून सुविधा र सीमित करिअर अवसरमै काम गरिरहेका छन्।
उनी भन्छिन्, ‘यहाँ राम्रो तलब पाउने नर्सहरू पनि हुनुहुन्छ । तर, सबैको धेरै तलब छ भन्न पनि मिल्दैन । प्राविधिक र गैरप्राविधिकको मूल्य फरक त भइहाल्छ ।’
नर्सिङ पेसाको अर्को जटिलता उनीहरूको पद र जिम्मेवारीबीचको सम्बन्धमा पनि देखिन्छ । नर्सहरू दशौं वा एघारौं तहसम्म पुगे पनि उनीहरूको काम प्रशासनिक जिम्मेवारीमा मात्र सीमित हुँदैन । पद जति माथि पुगे पनि उनीहरूको मूल जिम्मेवारी नागरिकलाई स्वास्थ्य सेवा दिनु नै हो ।
उनका अनुसार नर्सिङलाई कम तलब, लामो ड्युटी र श्रमशोषणको कथामा मात्र सीमित गरेर हेर्नु पनि अधुरो हुन्छ । यो पेसामा प्रवेश गर्ने बाटो कठिन छ, सरकारी सेवामा पुग्न प्रतिस्पर्धा उत्तिकै कडा छ र माथिल्लो तहसम्म पुग्न वर्षौं लाग्छ । तर त्यसैसँगै दक्षता, अनुभव, पद र जिम्मेवारी बढ्दै जाँदा नेपालमै सम्मानजनक करिअर र आम्दानीको सम्भावना पनि छ ।
सरकारी क्षेत्रमा मात्रै होइन, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको सेवा-सुविधाको अवस्था पनि अस्पतालपिच्छे फरक छ । बाहिरबाट हेर्दा सबै निजी अस्पतालमा काम गर्ने नर्सले कम पारिश्रमिक पाउँछन् भन्ने बुझाइ भए पनि वास्तविकता त्यस्तो एकरूप छैन ।
निजी अस्पतालमा पनि इन्ट्री लेभलका नर्सदेखि वरिष्ठ नर्स, नर्सिङ म्यानेजर र मेट्रोनसम्मको पारिश्रमिक फरक–फरक हुन्छ । अनुभव, जिम्मेवारी र संस्थामा बिताएको समयसँगै केही अस्पतालले आफ्ना अनुभवी नर्सलाई आकर्षक पारिश्रमिक तथा सेवा–सुविधा दिने गरेका छन् । तर अर्कोतर्फ, कतिपय निजी अस्पतालमा भने नर्सहरू अझै न्यून पारिश्रमिकमै लामो समय काम गर्न बाध्य छन् ।
यसको एउटा उदाहरण हो कीर्तिपुर अस्पतालमा कार्यरत एक नर्सको अनुभव । उनका अनुसार यस अस्पतालमा नर्सको पारिश्रमिक र सेवा–सुविधा तुलनात्मक रूपमा राम्रो छ । उनी स्वयंले पनि सरकारी आठौं तहका नर्ससरहको सेवा-सुविधा पाइरहेको बताउँछिन् ।
‘सबैले निजी अस्पतालमा काम गर्ने नर्सहरूको तलब राम्रो छैन भन्ने गुनासो गर्छन् । तर म यहाँ काम गर्न लागेको १२ वर्षभन्दा बढी भइसक्यो। मैले सरकारी नर्सले पाइरहेको सेवा-सुविधा पाइरहेकी छु,’ उनले भनिन् ।
तर, आफ्नो अनुभवलाई आधार बनाएर सबै निजी अस्पतालका नर्सको अवस्था राम्रो छ भन्न नमिल्ने उनी स्वयं स्वीकार्छिन् ।
‘सरकारी दरबन्दीमा काम गरिरहेका नर्सको आफ्नै समस्या छ, निजीमा काम गरिरहेकाहरूको आफ्नै समस्या छ,’ उनी भन्छिन्, ‘केही नर्सको तलब हेरेर सबैले राम्रो तलब पाइरहेका छन् भन्न मिल्दैन, केहीको अवस्था हेरेर सबैको अवस्था खत्तमै छ भन्न पनि मिल्दैन ।’
नर्सको पारिश्रमिकको तस्बिर बुझ्न अस्पतालको नामभन्दा पनि नर्सको पद, अनुभव, जिम्मेवारी र संस्थासँगको सम्बन्ध हेर्नुपर्ने उनको भनाइ छ ।
निजी संस्थामा नर्सको तलबमान
नेपाली नर्सले पाउने पारिश्रमिकमा सरकारी र निजी क्षेत्रबीच ठूलो अन्तर देखिन्छ । सरकारी सेवामा तहअनुसार तलबमान तोकिएको हुन्छ । तर निजी अस्पतालमा भने नर्सको पारिश्रमिकमा त्यस्तो एकरूपता छैन । अझ कतिपय निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गर्दै आएका छन् ।
तर, निजी अस्पताल सञ्चालकहरू भने यो आरोप स्वीकार गर्न तयार छैनन् । उनीहरूका अनुसार लामो समयदेखि एउटै संस्थामा काम गरिरहेका अनुभवी नर्सको पारिश्रमिक सरकारी सेवामा कार्यरत नर्सको भन्दा पनि बढी हुने गरेको छ ।
विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की भने नेपाली नर्स विदेशिने प्रवृत्तिलाई केवल कम पारिश्रमिकसँग जोडेर हेर्न नहुने बताउँछन् । उनका अनुसार नेपालमा राम्रो तलब दिएर पनि आजभोलि नर्स पाउन कठिन छ ।
उनी भन्छन्, ‘नर्सहरूलाई नेपालमा जति पैसा दिए पनि रोक्न सकिने अवस्था छैन । किनकि नेपाली नर्सको लर्को विदेशतिर बढी लाग्छ, त्यहाँ भाँडा माझेरै भए पनि उहाँहरूले मासिक तीन-चार लाखभन्दा बढी कमाउन सक्नुहुन्छ ।’
नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक रु. १७ हजार ३०० बाट बढाएर गत वर्षको साउनदेखि रु. १९ हजार ५५० तोकेको छ । तर निजी क्षेत्रमा कार्यरत श्रमिकले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो रहँदै आएको छ ।
नर्सहरूको हकमा भने गत वर्ष भएको आन्दोलनपछि सरकार, निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालक र नर्सहरूबीच भएको सहमतिले निजी क्षेत्रमा नर्सको पारिश्रमिकका लागि एउटा मापदण्ड तय गर्ने प्रयास गरेको थियो। सहमतिअनुसार निजी मेडिकल कलेजमा कार्यरत नर्सलाई सरकारी पाँचौं तहसरह रु. ३४ हजार ७७० र अन्य निजी अस्पतालमा कम्तीमा सरकारी दरको ८० प्रतिशत पारिश्रमिक दिने व्यवस्था गरिएको थियो ।
कार्कीका अनुसार उक्त सहमतिअनुसार नै निजी अस्पताल तथा मेडिकल कलेजले नर्सलाई पारिश्रमिक उपलब्ध गराउँदै आएका छन्। विराट मेडिकल कलेजमा कार्यरत करिब तीन हजार कर्मचारीमध्ये एक हजार नर्स रहेको र सबैलाई मासिक रु. ३४ हजार ७७० पारिश्रमिक दिइरहेको उनको दाबी छ ।
तर, उनको भनाइमा अहिले निजी स्वास्थ्य संस्थाको मुख्य समस्या नर्सलाई तलब कति दिने भन्नेभन्दा पनि आवश्यक संख्यामा नर्स नै पाउन नसक्नु हो ।
‘हामीलाई तलबसँगको सरोकार होइन, यहाँ त नर्स नै पाउन गाह्रो भइरहेको अवस्था छ । हामीले ६० हजार नै दिए पनि विदेश जाने हो भने सुख-दुःख तीन-चार लाख कमाइहाल्नुहुन्छ। यस्तो अवस्थामा हामीले नर्सलाई पैसाको कारण रोक्न सकिने अवस्था छैन,’ उनले भने ।
सरकारी दरबन्दीका नर्सको तलबमान
नेपालमा सरकारी नर्सिङ करिअर स्टाफ नर्सबाट सुरु भएर अधिकृत तह हुँदै उच्च नर्सिङ प्रशासनसम्म पुग्छ । सरकारी सेवामा स्टाफ नर्स पाँचौं तहको पद हो । अनुभव, योग्यता र बढुवासँगै नर्सहरू छैटौं, सातौं, आठौं हुँदै उच्च तहमा पुग्न सक्छन् ।
पाँचौं तहको स्टाफ नर्स नर्सिङ पढाइ सकेर सरकारी सेवामा प्रवेश गर्ने प्रमुख पद हो । आर्थिक वर्षबाट सरकारले तलबमा २१ प्रतिशत वृद्धि गरेपछि पाँचौं तहका नर्सको मासिक तलब रु. ४२ हजार २३ पुगेको छ। यसअघि उनीहरूले रु. ३४ हजार ७३० पाउँदै आएका थिए ।
त्यसपछि तह बढ्दै जाँदा नर्सको पारिश्रमिक पनि क्रमशः बढ्छ । छैटौं तहका नर्सिङ अधिकृतले यसअघि रु. ४३ हजार ६८९ पाउँदै आएकोमा तलब वृद्धिपछि रु. ५२ हजार ८८३ रुपैयाँ ६९ पैसा पाउन थालेका छन् । सातौं तहका नर्सिङ अधिकृतको तलब रु. ४५ हजार ८५१ बाट बढेर रु. ५५ हजार ४७१ रुपैयाँ ७१ पैसा पुगेको छ ।
त्यस्तै, आठौं तहका वरिष्ठ नर्सिङ अधिकृतको तलब रु. ४८ हजार ७३७ बाट बढेर रु. ५८ हजार ९७१ रुपैयाँ ७७ पैसा पुगेको छ। नवौं तहका वरिष्ठ नर्सिङ अधिकृतले यसअघि रु. ५२ हजार ४१७ पाउँदै आएकोमा अहिले रु. ६३ हजार ४२४ रुपैयाँ ५७ पैसा पाउँछन् ।
दशौं तहका वरिष्ठ नर्सिङ अधिकृतको तलब रु. ५६ हजार ७८७ बाट बढेर रु. ६८ हजार ७१२ रुपैयाँ २७ पैसा पुगेको छ। नर्सिङ सेवाको उच्च तहमा पुग्ने एघारौं तहका प्रमुख नर्सिङ प्रशासक/वरिष्ठ तहका नर्सिङ पदको तलब भने रु. ६० हजार ४९० बाट बढेर रु. ७३ हजार १९२ रुपैयाँ ९० पैसा पुगेको छ ।
नर्सको यकिन संख्या नै छैन
नेपालमा नर्सहरू पटक-पटक आन्दोलनमा उत्रिन्छन् । उनीहरूका माग, समस्या र आन्दोलनका विषयमा बहस पनि हुन्छ । तर देशभर सरकारी र निजी अस्पतालमा कति नर्स कार्यरत छन् ? भन्ने आधारभूत प्रश्नको ठोस उत्तर भने कुनै निकायसँग छैन ।
नर्सहरूको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल नर्सिङ संघसँग पनि आफ्ना सदस्यको संख्याबाहेक देशभर कार्यरत नर्सको एकीकृत तथ्यांक छैन। संघसँग न निजी अस्पतालमा कार्यरत नर्सको संख्या छ, न सरकारी अस्पतालमा कार्यरत नर्सको नै ।
उसो त सरकारसँग पनि अवस्था फरक छैन । नेपालका अस्पतालमा कति नर्स कार्यरत छन् भन्ने प्रश्नको ठ्याक्कै तथ्यांक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समेत छैन ।
मन्त्रालयका अनुसार संघीय सरकारअन्तर्गत स्वास्थ्य क्षेत्रमा करिब ३२ हजार कर्मचारीको दरबन्दी छ । त्यसमध्ये करिब २ हजार ३०० दरबन्दी नर्सका लागि छुट्याइएको छ। तर तीमध्ये कति पदमा नर्स कार्यरत छन् र कति पद रिक्त छन् भन्ने यकिन तथ्यांकसमेत तत्काल उपलब्ध गराउन कठिन छ ।
मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसी देशभरका नर्सको संख्या यकिन गर्न कठिन हुनुको मुख्य कारण स्वास्थ्य सेवाको अधिकार संघबाट प्रदेश र स्थानीय तहसम्म पुगेपछि नर्सको नियुक्ति र दरबन्दी विभिन्न तहबाट निर्धारण हुनु रहेको बताउँछन् ।
‘मन्त्रालयसँग संघको डाटा मात्रै छ, त्यो पनि एकिन छैन। अहिले धेरै अधिकार प्रदेश र स्थानीय तहलाई छ । उहाँहरूले आवश्यकताअनुसार नर्सको दरबन्दी खोल्नुहुन्छ र भर्ना गर्नुहुन्छ। कतिपयले करारकै दरबन्दीमा पनि नर्सहरू राखिरहेका छन्। त्यसैले तत्काल ठ्याक्कै सरकारी क्षेत्रमा कति नर्स छन् भन्ने जवाफ दिन गाह्रो छ,’ उनले भने ।
नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार नेपालमा ८८ हजार २ सय ३२ जना रजिस्टर्ड नर्स छन् । त्यस्तै ३७ हजार ६ सय २२ एएनएम, १ सय ९५ बीएमएस, १ हजार ९ सय ५६ विशेषज्ञ र ८ सय ५६ विदेशी नर्स तथा मिडवाइफ काउन्सिलमा दर्ता छन् । यी सबैलाई जोड्दा काउन्सिलमा दर्ता भएका नर्सिङ तथा सम्बन्धित जनशक्तिको संख्या १ लाख २८ हजार ८ सय ६१ पुग्छ । तर नेपाल भित्रै काम गरिरहेका नर्सको संख्या कसैसँग छैन ।
यसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको एउटा गम्भीर तथ्यांकको खाडल देखाउँछ । देशभर नर्सको संख्या यकिन नभएपछि सरकारले नर्सको आवश्यकता कति छ, कहाँ कति नर्स अपुग छन्, कति नयाँ दरबन्दी आवश्यक छ र कति नर्स बेरोजगार छन् भन्ने विषयमा समेत सरकार बेखबर छ ।