काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोले सवारी प्रेमीहरूलाई मात्र नभई आम सर्वसाधारणलाई पनि लोभ्याइरहेको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजाइएका छन् ।
अटो व्यवसायीहरूका अनुसार यस पटकको एक्स्पोले बजारमा नयाँ उत्साह थपेको छ । मेला सुरु भएको पहिलो चार दिनमै करिब १६ सय युनिट सवारीसाधन बुकिङ भइसकेका छन् । दैनिक औसत ४०० देखि ५०० को हाराहारीमा बुकिङ भइरहेको आयाेजकले जनाएकाे छ ।
यस वर्षको मेलामा पनि विद्युतीय सवारी साधन (ईभी) प्रतिको क्रेज कायमै छ । तर, रोचक कुरा के छ भने अघिल्ला वर्षहरूका तुलनामा डिजेल/पेट्रोलबाट चल्ने (आइसीई) गाडीहरूले पनि राम्रो प्रतिक्रिया पाएका छन् । विशेषगरी हुन्डाईका पेट्रोल गाडीहरूमा अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिएको छ ।
कुन ब्राण्डमा कति आकर्षण ?
१. बीवाईडी
मेलामा सबैभन्दा धेरै बुकिङ पाउने ब्राण्डमध्ये बीवाईडी अग्रस्थानमा छ । कम्पनीका अनुसार हालसम्म ५०० भन्दा बढी गाडी बुकिङ भइसकेका छन् । जसमा ६० प्रतिशत हिस्सा एटो २ मोडलले ओगटेको छ । बीवाईडीले ३० लाख ७५ हजारको अट्टो १ देखि ६२ लाख ९० हजारको अट्टो ३ फेसलिफ्टसम्मका विकल्पहरू उपलब्ध गराएको छ ।

२. चेरी
नेपाली बजारमा पहिलोपटक डेब्यु गरेको चेरी ब्राण्डले सबैलाई अचम्मित पार्दै ३०० युनिट बुकिङ सुरक्षित गरेको छ ।
एसपीजी अटोमोबाइलले ल्याएको चेरीको ’क्यु-क्यु’ सिरिजले बजेट ईभी खोज्नेहरूलाई आकर्षित गरेको छ । यसको प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।
३. टाटा
सिप्रदी ट्रेडिङले ल्याएको टाटाका गाडीहरू सधैं झैं यसपालि पनि रोजाइमा परेका छन् । २८० भन्दा बढी बुकिङ पाएको टाटाले नयाँ फिचरसहितको टियागो ईभी फेसलिफ्ट र पन्च ईभीलाई मेलाको मुख्य आकर्षण बनाएको छ । पन्च ईभीको सुरुवाती मूल्य ३२ लाख ९९ हजार तोकिएको छ ।
४. लिपमोटर
नेपाल भित्रिएको नयाँ ब्राण्ड लिपमोटरको बी०३ एक्स १५० युनिट र बी १० ५० युनिट बुकिङ भएका छन् । लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्सले बी०३ को मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । विशेष पहिलो १०० जना ग्राहकका लागि यो गाडी ४४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
प्रोटोन
त्यस्तै, जगदम्बा मोटर्सले ल्याएको प्रोटोनको ईमास फाइभ १०० युनिट र ईमास सेभन २५ युनिट भन्दा बढी बुकिङ भइसकेका छन् । प्रोटोनका यी मोडलहरू ३२ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छन् ।
५. हुन्डाई
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेटलको स्टलमा पनि भीड उस्तै छ । विशेषगरी हुन्डाईको पेट्रोल भेरियन्टका भेन्यु, क्रेटा र एक्सटर मोडलमा मानिसहरू झुम्मिएका छन् । भेन्यु मात्रै ११६ युनिटभन्दा बढी बुकिङ भइसकेको छ ।

बैंकको ब्याजदरमा आएको गिरावट र चाडपर्वको अवसरमा कम्पनीहरूले दिएका आकर्षक छुटका कारण पनि बुकिङ संख्या बढेको व्यवसायीहरूको विश्लेषण छ । आगामी दिनहरूमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।