काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा बरालसँगै प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशी थिए ।
मेकानिकल इन्जिनियरिङ रहेका प्राध्यापक बराल काठमाडौं विश्वविद्यालयकै पूर्वविद्यार्थी हुन् । उनी विश्वविद्यालयको दोस्रो ब्याचअन्तर्गत इन्जिनियरिङ संकायमा अध्ययन गरेका थिए । केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेपछि उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
विदेशमा अध्ययन पूरा गरी नेपाल फर्किएपछि बरालले सन् १९९९ मा केयूमा लेक्चररका रूपमा अध्यापन सुरु गरेका थिए । करिब २७ वर्षदेखि विश्वविद्यालयमा कार्यरत उनी सन् २०१८ मा प्राध्यापक बनेका हुन् । यस अवधिमा उनले ऊर्जा, वातावरण, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषयमा अध्यापन गरेका छन् ।
बरालको अनुसन्धान क्षेत्र इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्ससँग सम्बन्धित छ । उनले धुलिखेल र विराटनगर क्षेत्रमा परम्परागत तथा आधुनिक भवनको तापक्रम व्यवस्थापन, ऊर्जा उपयोग र भित्री वातावरणको तापीय सहजतासम्बन्धी अध्ययनसमेत गरेका छन् ।
त्यस्तै, विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको ताप व्यवस्थापन, ब्याट्री कूलिङ तथा नानोफ्लुइड्सको प्रयोगसम्बन्धी अनुसन्धानमा पनि उनी संलग्न छन्। अत्यधिक तापका कारण ब्याट्रीको कार्यक्षमतामा पर्ने असर कम गर्ने प्रविधिको विकास उनको अनुसन्धानको अर्को प्रमुख क्षेत्र हो ।
बराल काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापति पनि हुन् । प्राध्यापक संघको नेतृत्वमा रहँदा उनले विश्वविद्यालयका प्राध्यापक तथा प्राज्ञिक क्षेत्रका विभिन्न विषयमा भूमिका निर्वाह गरेका थिए ।
केयूको उपकुलपति छनोटका लागि ३५ जनाले आवेदन दिएका थिए । प्रारम्भिक प्रक्रियाबाट १० जनाको नाम सार्वजनिक गरिएको थियो । उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि मूल्यांकनका आधारमा तीन जनाको नाम छनोट गरी नियुक्तिका लागि सिफारिस गरिएको थियो ।