बैंकका कर्मचारीले नै गरे आर्थिक घोटाला, कोर बैंकिङमा छिरेर ३३ करोड गायव

भारतको सिल्लीगुडीसम्म फैलिएको जालो

काठमाडौं । घटना २०७१ साल असोजतिरको हो । कृषि विकास बैंक, स्वयम्भू शाखाका दिनहरू अरू बेलाजस्तै सामान्य गतिमा चलिरहेका थिए । सेवाग्राहीको आवतजावत, काउन्टरमा बज्ने क्यास काउन्टर मेसिनको आवाज र कर्मचारीहरूको दैनिकीमा कुनै भिन्नता थिएन । तर, त्यहाँ कसैलाई पत्तो थिएन- यही बैंकको एउटा कुनामा रहेको कम्प्युटर स्क्रिनभित्र नेपालको वित्तीय इतिहासकै ठूलो र चलाखीपूर्ण अपराधको खाका कोरिसकिएको छ ।

केही महिनाको छोटो अवधिमै बैंकको प्रणालीभित्रै बसेर सुटुक्क ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ गायब पारियो । यो केवल रकम घोटाला वा साधारण चोरीको विषय मात्र थिएन, यो त एउटा विश्वासघात, नक्कली नागरिकताको प्रयोग, आधुनिक सूचना प्रविधिको दुरुपयोग र भारतको सिल्लीगुडीसम्म जेलिएको एउटा हाइ-प्रोफाइल वित्तीय अपराधको रहस्यमयी सञ्जाल थियो । 

यसरी बुनियो अपराधको योजना 

यो सम्पूर्ण काण्डका मुख्य सूत्रधार थिए कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम । गौतम बैंकका एक अनुभवी कर्मचारी भए पनि उनी व्यक्तिगत जीवनमा गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । जग्गा कारोबारमा परेको ठूलो नोक्सानी र त्यसपछि टाउकोमा थुप्रिएको ऋणको बोझले उनलाई विचलित बनाएको थियो । 

आर्थिक सङ्कटबाट उम्किने सहज र द्रुत बाटो खोज्ने क्रममा उनको भेट भारतमा नेटवर्किङ व्यवसाय र अन्य संदिग्ध गतिविधिमा संलग्न राजीव थापा उर्फ कृष्णहरि थापासँग भयो । 

दुवैबीच काठमाडौंका विभिन्न स्थानमा भेटघाट र गहन छलफल भयो । अन्ततः उनीहरूले बैंकको प्रविधिभित्र रहेको छिद्रको फाइदा उठाउँदै करोडौं रकम लुट्ने र सो रकम पचाएर सुरक्षित रूपमा भारत भाग्ने खतरनाक योजना तयार पारे । योजना अनुसार लुटिएको रकमको ३३÷३३ प्रतिशत रकम केदारप्रसाद गौतम र राजीव थापाले बाँड्ने सहमति भयो ।

बाँकी रहेको ३३ प्रतिशत रकम भने नक्कली खाता खोल्ने, रकम निकाल्ने बिचौलियाहरूलाई कमिसन दिने र अन्य प्राविधिक खर्चहरूमा प्रयोग गर्ने तय गरियो ।

योजना कार्यान्वयन गर्न गौतमले सबैभन्दा पहिले आफ्नै सहकर्मीको विश्वासमाथि प्रहार गरे । स्वयम्भू शाखामै कार्यरत महिला लेखापाल गीता पन्त काममा व्यस्त रहेका बेला वा उनी सिटबाट उठेको मौका छोपेर गौतमले सुटुक्क उनको कम्प्युटरको ‘युजर आईडी’ र ‘पासवर्ड’ पत्ता लगाए । त्यसपछि सुरु भयो कोर बैंकिङ प्रणालीसँगको खतरनाक खेल । 

गौतमले दिनभरिको नियमित काम सकिएपछि वा साँझपख कार्यालय सुनसान हुने समय रोज्थे । उनले लेखापाल गीता पन्तको पासवर्ड प्रयोग गरी देशका विभिन्न साना र दुर्गम शाखाहरूबाट स्वयम्भू शाखामा ठूलो परिमाणको रेमिट्यान्स रकम आएको भन्दै प्रणालीमा नक्कली विवरण प्रविष्ट गराउँथे । लगत्तै, सो रकमलाई आफ्नै आधिकारिक ‘युजर आईडी’ बाट स्वीकृत गरिदिन्थे ।

बैंकका अन्य हाकिम र कर्मचारीहरू कार्यालय समय सकिएर घर फर्किसकेपछि गौतम भने मध्यरातिसम्म बैंकभित्रै बसेर यो गैरकानुनी ‘डिजिटल’ लुट मच्चाइरहेका हुन्थ्ये ।

नक्कली नागरिकता, ट्याक्सी र ’काउन्टर’ बाटै करोडौंको भुक्तानी

स्वयम्भू शाखाको प्रणालीमा रकम जम्मा देखिइसकेपछि त्यसलाई नगदमा रूपान्तरण गर्नु अर्को ठूलो चुनौती थियो । सोझै स्वयम्भू शाखाबाटै ठूलो रकम निकालिँदा अन्य कर्मचारीलाई शंका हुने डर थियो । त्यसैले गौतम र थापाको समूहले सो नक्कली रकमलाई पुतलीसडक, न्यूरोड, रत्नपार्क, मङ्गलबजार र सातदोबाटो जस्ता व्यस्त शाखाहरूमा खोलिएका खाताहरूमा ट्रान्सफर गरे ।

रकम निकाल्नका लागि राजीव थापाले गिरोहका अन्य सदस्यहरू प्रयोग गरी नक्कली नागरिकताका आधारमा सरोज यादव, रणजित भट्टराई, नवनिधान गुरुङ र बलराम के.सी. को नाममा खाता खोलेका थिए । यति मात्र होइन, भारतको सिक्किमबाट काठमाडौं बोलाइएका सूर्यबहादुर लिम्बू लाई ‘बसन्त राई’ को नक्कली नागरिकता र फोटो टाँसेर खाता खोल्न लगाइयो। बिचौलियाहरूले यी व्यक्तिहरूलाई ट्याक्सीमा राखेर बैंकसम्म पु¥याउने, ट्याक्सीभित्रै चेकबुकमा सही गराउने र काउन्टरबाट करोडौं रुपैयाँ नगद बुझ्न लगाउने गर्दथे ।

‘मलाई कुल रकमको १२ प्रतिशत रकम दिने प्रलोभन देखाइएको थियो । बैंक नजिकै ट्याक्सी रोकेर मलाई चेक र नक्कली नागरिकता दिएर भित्र पठाइन्थ्यो । म रकम निकालेर बाहिर ल्याएर उनीहरूलाई बुझाउँथे,’ पछाडि पक्राउ परेका आरोपी सूर्यबहादुर लिम्बूले प्रहरी बयानका क्रममा खुलाएका छन् । 

नगद भुक्तानीका अलावा उनीहरूले सिभिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमार्फत इलेक्ट्रोनिक चेक क्लियरिङ  प्रणालीको समेत दुरुपयोग गरी करोडौं रकम अन्यत्र स्थानान्तरण गरेका थिए ।

एउटा सानो गल्तीले ‘महाघोटाला’ को भण्डाफोर

महिनौंसम्म निर्वाध रूपमा चलेको यो वित्तीय अपराधको पर्दाफास भने एउटा सानो प्राविधिक गल्तीका कारण हुन पुग्यो । २०७२ असार ७ गते साँझ ६ बजेतिर केदारप्रसाद गौतमले सरोज यादवको खाताबाट अर्को खातामा १० लाख रुपैयाँ ट्रान्सफर गर्न गीता पन्तको आईडीबाट इनपुट त गरे, तर हतारमा वा ध्यान नगेर आफ्नै आईडीबाट त्यसलाई स्वीकृत अथोराइज गर्न छुटाए ।

त्यो १० लाख रुपैयाँ प्रणालीमा पेण्डिङ भएर बसिरह्यो । भोलिपल्ट असार ८ गते बिहान १० बजे लेखापाल गीता पन्त कार्यालय आएर आफ्नो प्रणाली खोलिन् । उनलाई देख्नासाथ शाखाका अन्य वरिष्ठ अधिकारीहरूले सोधे– ‘अघिल्लो साँझ १० लाख रुपैयाँको फन्ड ट्रान्सफर किन पेन्डिङ राखेको ?’

पन्त छाँगाबाट खसेजस्तै भइन् । किनकि उनले अघिल्लो दिन त्यस्तो कुनै पनि कारोबार गरेकी थिइनन् । शंका लागेर भौचर र चेक खोज्दा केही पनि भेटिएन । त्यसपछि बैंकको मुख्य प्रणालीभित्र छिरेर गहिरोसँग अनुसन्धान गर्दा पन्तको पासवर्डबाट दर्जनौं नक्कली रेमिट्यान्स इन्ट्रीहरू भएका र ती सबैलाई अधिकृत गौतमले स्वीकृत गरेको सनसनीपूर्ण तथ्य बाहिर आयो ।

घटनाको गम्भीरतालाई बुझेर तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ र बैंकका वरिष्ठ अधिकारीहरूले तत्काल मुख्य कार्यालय, नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा खबर गरेपछि स्वयम्भू काण्डको रहस्य औपचारिक रूपमा बाहिर आएको हो ।

नक्कली नाम दोस्रो विवाह र असीमित फजुल खर्च

बैंकमा छानबिन सुरु भएको पत्तो पाउँनासाथ केदारप्रसाद गौतम रातारात फरार भए । उनीसँगै बैंकबाट गैरकानुनी रूपमा निकालिएको करोडौं रकम हुन्डीका विभिन्न सञ्जालमार्फत भारतको सिल्लीगुडीतर्फ पठाइयो ।

गौतमको व्यक्तिगत जीवन पनि कुनै फिल्मी कथाभन्दा कम रहेन । नेपाल र भारतीय प्रहरीको नजरबाट बच्न उनले आफ्नो पुरानो पहिचान पूर्ण रूपमा लुकाए । उनले भारतको दार्जिलिङ र सिल्लीगुडी पुगेर ‘प्रेम शर्मा’ को नक्कली नाममा भारतीय नागरिकता, आधार कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाए । 

काठमाडौंमा रहेकी जेठी श्रीमती (सम्झना पोखरेल) र छोरालाई बेवास्ता गर्दै उनले काठमाडौंमै भेटिएकी जेनी श्रेष्ठ नामकी युवतीसँग दोस्रो विवाह गरे र सिल्लीगुडीमा एउटा भव्य फ्ल्याट भाडामा लिएर बस्न थाले ।

अनुसन्धानका क्रममा नेपालमा रहँदा गौतम र उनी सम्बद्ध गिरोहले लुटेको पैसा अत्यन्तै विलासी र फजुल काममा उडाएको अनुसन्धानबाट खुल्यो । उनले सो रकमलाई साथीभाइ र बिचौलियाहरूलाई बोलाएर हवाईजहाजमा यात्रा गराउने, महँगा रिसोर्टमा बस्ने र तडकभडकपूर्ण पार्टी दिने, आफन्त, नातागोता र चिनेजानेकाहरूलाई उदारताका साथ लाखौं रुपैयाँ ऋण र सापटी बाँड्ने गरेको अभियोगपत्रमा उल्लेख छ । 

यस्तै, उनले काठमाडौंका नामी सुन पसलहरूबाट बिना हिचकिचाहट लाखौं मूल्यका सुन तथा बहुमूल्य गहना खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

बैंकको नियमअनुसार हरेक दिनको कारोबार सोही दिन साँझ मिलान  हुनुपर्छ । तर, स्वयम्भू शाखामा महिनौँसम्म करोडौँको नक्कली कारोबार भइरहँदा पनि क्षेत्रीय कार्यालय र मुख्य कार्यालयले कुनै सोधपुछ वा अनुगमन नगरेको अभियोगपत्रमा उल्लेख छ । 

बैंकिङ प्रणालीको दुरुपयोग गरी, नक्कली कागजात खडा गरेर बैंकलाई सोझै ३३ करोड ८२ लाखभन्दा बढी नोक्सानी पु¥याएको ठहर गर्दै नेपाल सरकारका तर्फबाट उच्च अदालत पाटन, वाणिज्य इजलासमा बैंकिङ कसूर तथा सजाय ऐन अनुसार पुरक अभियोगपत्र दायर गरिएको छ ।

Share News