काठमाडौं । आगामी दशैं, तिहारलगायतका चाडपर्वमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन सरकारले आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात गर्ने निर्णय गरेको छ । बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्न सरकार, नेपाल आयल निगम, उद्योगी तथा वितरकबीच भएको उच्चस्तरीय छलफलले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चाडपर्वका बेला ग्यासको माग उल्लेख्य रूपमा बढ्ने भएकाले आपूर्ति व्यवस्थालाई पूर्वतयारीका साथ सुदृढ बनाउने निष्कर्ष निकालेको छ । सोहीअनुसार आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात सुनिश्चित गर्ने निर्णय गरिएको हो ।
बैठकमा पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको वास्तविक अवस्था, आपूर्तिमा देखिएका चुनौती तथा समाधानका उपायबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी र वितरण व्यवसायीबीच विस्तृत छलफल भएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा प्रचार भएजस्तो गम्भीर ग्यास अभाव नरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार पश्चिम एशियामा उत्पन्न द्वन्द्वका कारण आपूर्ति सहज बनाउन केही समय ७.१ किलोग्रामका आधा सिलिन्डर वितरण गरिएको थियो । अहिले पुनः १४.२ किलोग्रामका पूर्ण सिलिन्डर वितरण सुरु भएपछि एकैपटक बजारमा माग बढेको हो।
व्यवसायीहरूले पहिलेको तुलनामा ग्यास आयातको मात्रा बढेको भए पनि उपभोक्ताले आवश्यकभन्दा बढी सिलिन्डर घरमै भण्डारण गर्न थालेकाले बजारमा कृत्रिम अभावजस्तो अवस्था सिर्जना भएको बताएका छन् ।