भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, सञ्चालक समितिको बैठक नबस्दा नयाँ मूल्य रोकियो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले नयाँ खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको छैन । यसपटक खरिद मूल्यमा उल्लेख्य परिवर्तन भएकाले निगम सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गरिने भएको हो । 

नेपाल आयल निगमले सामान्यतया हरेक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गर्दै आएको छ । 

आईओसीले प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ खरिद मूल्य पठाउने गर्दछ । सोहीअनुसार शुक्रबार नै नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म संशोधित मूल्यसूची सार्वजनिक गरेको छैन । 

निगमको स्वचालित मूल्य प्रणालीसम्बन्धी कानुनी व्यवस्थाअनुसार प्रतिलिटर दुई रुपैयाँसम्म मूल्य समायोजन गर्ने अधिकार व्यवस्थापनलाई मात्र छ । तर, दुई रुपैयाँभन्दा बढीले मूल्य बढाउन वा घटाउनुपर्ने अवस्था आएमा भने सञ्चालक समितिको बैठकबाट निर्णय गराउनुपर्ने अनिवार्य व्यवस्था छ ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा उल्लेखनीय परिवर्तन (दोहोरो अंकको वृद्धि) भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्य सार्वजनिक गरिने निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी अध्यक्ष रहेको निगम सञ्चालक समितिमा अर्थ मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका प्रतिनिधि, विज्ञ सदस्य, निगमका कार्यकारी प्रमुख र ट्रेड युनियनका प्रतिनिधिहरू सदस्य रहेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले यसपटक भारतबाटै इन्धनको मूल्य उल्लेख्य बढेर आएको निगम स्रोतले जनाएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सञ्चालक समितिको बैठक बस्न नसकेको र बैठक बस्नासाथ निर्णय गरी नयाँ मूल्य लागू गरिने निगमले जनाएको छ । 

भारतबाट खरिद मूल्य बढेर आएका कारण नेपालमा पनि इन्धनको खुद्रा मूल्य बढ्ने निश्चित जस्तै छ ।

Share News