बर्गर हाउसलाई ५ हजार जरिवाना, १० कम्पनीलाई सुधारको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९, राधेराधेस्थित द बर्गर हाउस एण्ड कन्ची फ्राइड चिकेनलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल-विजक नराखेको पाइएकाले ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा दफा ३९(१)(क) अनुसार ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

यसैबीच विभागले सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न उद्योग तथा व्यवसायमा अनुगमन गरी सुधारका लागि आवश्यक निर्देशन पनि दिएको छ।

विभागका अनुसार ललितपुर महानगरपालिका-१८, भैँसेपाटीस्थित हेल्दी बाइट्स सर्भिसेस प्रालिलाई व्यवसाय दर्ता, प्यान नम्बर, कर चुक्ता, खानाको मेनु सूची तथा खरिद-बिक्री बिलसहितका कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा ललितपुरको खोकना दोबाटोस्थित उमंग इन्टरप्राइजेजलाई नेपाल सरकारको मापदण्डअनुसार ग्यासको समानुपातिक तथा न्यायोचित वितरण गर्न निर्देशन दिइएको छ भने सरस्वती खाद्य किराना पसललाई अनिवार्य रूपमा बिल-विजक जारी गर्न र खरिद बिल व्यवस्थित राख्न भनिएको छ।

काठमाडौं महानगरपालिका-१०, चाँदनीनगरस्थित युवा इन्टरप्राइजेज र वडा नं. १७, ढल्कोस्थित सिम्रन ग्यास स्टोरलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

त्यसैगरी, काठमाडौं-१०, छक्कुबक्कु मार्गस्थित महालक्ष्मी गर्ल्स होस्टेललाई बिल-विजक जारी गर्ने, सरसफाइ सुधार गर्ने तथा दर्तासम्बन्धी कागजात व्यवस्थित राख्न निर्देशन दिइएको छ। काठमाडौं-१५, डल्लुस्थित न्यू लक्ष्मी खाजा उद्योगलाई सरसफाइमा विशेष ध्यान दिन, खरिद-बिक्री बिल व्यवस्थित राख्न तथा नापतौल व्यवस्थापनमा सुधार गर्न भनिएको छ।

विभागले काठमाडौं-३२, पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योग प्रालिलाई ग्यासको कृत्रिम अभाव सिर्जना नगरी समानुपातिक रूपमा वितरण गर्न तथा व्यावसायिक मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

यस्तै, भक्तपुरको मध्यपुर थिमी-३, गठ्ठाघरस्थित गठ्ठाघर बर्गर हाउस प्रालिलाई मेनुमा उल्लेखित मूल्यभन्दा बढी रकम नलिन तथा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। काठमाडौं-६, बौद्धस्थित हिमालयन हिल्स फुड्स प्रालिलाई प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल-विजक जारी गर्न विभागले निर्देशन दिएको छ।

Share News