पढ्दापढ्दै अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दै इस्लिङ्टनका २९ विद्यार्थी

काठमाडौं । इस्लिङ्टन कलेजले विद्यार्थीलाई पढाइसँगै विभिन्न परियोजनामा काम गर्ने अवसर प्रदान गर्दै आएको छ । 

हाल कलेजमा अध्ययनरत २९ जना विद्यार्थीले पढाइसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न कम्पनीका परियोजनामा काम गरिरहेको कलेजले जनाएको छ । 

कलेजले उनीहरूलाई आफ्नो पहिलो एआई–नेटिभ ट्यालेन्ट समूहका रूपमा प्रस्तुत गरेको जनाएको छ ।

कलेजका अनुसार २९ जना विद्यार्थीलाई विशेष तालिम प्रदान गरी साझेदार संस्था ग्लोबल टिम्स एआईमार्फत अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न परियोजनामा आबद्ध गरिएको हो । 

विद्यार्थीहरूको क्षमता साझेदार संस्था पेक्सस टेकले पनि सकारात्मक रूपमा मूल्यांकन गरेको कलेजले जनाएको छ ।

कलेजले विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरको तालिम तथा व्यावहारिक सिकाइमार्फत विश्वव्यापी कार्य वातावरणमा काम गर्ने अवसर दिँदै आएको छ  । 

सोही अवसरअन्तर्गत हाल २९ जना विद्यार्थी नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् ।

इस्लिङ्टनले विद्यार्थीलाई वास्तविक परियोजना, उद्योगमैत्री प्रयोगशाला, व्यावहारिक अभ्यास तथा कार्यअनुभवमार्फत रोजगारी बजारका लागि तयार पार्दै आएको छ भने अध्ययन पूरा नहुँदै विद्यार्थीले अन्तर्राष्ट्रिय कम्पनीसँग काम गर्ने अवसर प्रदान गरिरहेको छ ।

कलेजका अध्यक्ष सुलभ बुढाथोकी विद्यार्थीले अध्ययन र करिअरलाई सँगसँगै अघि बढाइरहेको बताउँछन् । ‘हाम्रा विद्यार्थीले डिग्री पूरा गर्ने कि काम सुरु गर्ने भन्ने दुविधामा बस्नुपरेको छैन,’ उनी भन्छन्, ‘हाम्रा विद्यार्थी अध्ययनसँगै अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् ।’

पेक्सस टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशान्त केसीले इस्लिङ्टन कलेजका विद्यार्थी प्राविधिक रूपमा सक्षम रहेको र एआई–आधारित कार्य वातावरणमा सुरुदेखि नै काम गर्न सक्ने क्षमता रहेको बताए ।

Share News