काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–मंगोलिया सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय तहमा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको हो ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए ।
उनले विद्यालय शिक्षासँग खेलकुदलाई प्रभावकारी रूपमा जोड्ने नीति अघि बढाइएको उल्लेख गर्दै चेस खेलको विकासका लागि मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।
मन्त्री पोखरेलले नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीच धेरै समानता रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदमा सहकार्यको सम्भावना प्रशस्त रहेको बताए ।
उनले चेस केवल खेल नभई विद्यार्थीको बौद्धिक विकास, विश्लेषण क्षमता, निर्णय गर्ने सीप र समस्या समाधान गर्ने दक्षता बढाउने प्रभावकारी माध्यम भएको बताए ।
मंगोलियाले विद्यालय शिक्षामै चेसलाई सफलतापूर्वक समावेश गरेको अनुभव साझा गर्दै उनले नेपालसँग पनि त्यस अनुभव आदानप्रदान गर्न र आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताए ।
भेटमा विद्यालय शिक्षामा चेस खेललाई प्रवर्द्धन गर्दै दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत सहमति भएको मन्त्रालयले जनाएको छ ।