देवानगञ्ज घटनापछि धार्मिक अगुवाको संयुक्त अपिल, हिंसा होइन संवाद रोजौँ

काठमाडौं । सुनसरीको देवानगञ्ज, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनापछि हिन्दु र मुस्लिम धार्मिक अगुवाले संयुक्त रूपमा शान्ति, सद्भाव र संयमता कायम राख्न अपिल गरेका छन् ।

शुक्रबार जारी संयुक्त अपिलमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

उनीहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् ।

संयुक्त वक्तव्यमा घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीत कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ । पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति र घाइतेको प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

धर्मका नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन सबै नागरिकलाई अपिल गरिएको छ । उत्तेजनात्मक, घृणाजन्य वा सामाजिक सद्भाव भड्काउने गतिविधिमा संलग्न नहुन पनि अनुरोध गरिएको छ ।

धार्मिक अगुवाहरूले सबै धर्मले मानव कल्याण, सहिष्णुता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै एकअर्काको आस्था र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक संस्था, नागरिक समाज र सञ्चारमाध्यमलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय हुन आग्रह गरेका छन् ।

संयुक्त अपिलमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, जमिअत उलेमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराज फुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजमुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।

Share News