सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग रवि लामिछानेको छलफल

सुनसरी, सिराहालगायतका जिल्लामा प्रदर्शन रोक्न संयुक्त अपिल गर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् ।

शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन् । त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन् ।

छलफलका क्रममा सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न दुवै समुदायका अगुवाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई प्रदर्शन रोक्न तथा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन् । पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा उत्पन्न तनावलाई संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

Share News