काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा गत साउन १० गते दुई पक्षबीच भएको विवाद र झाडपपछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
साथै, झडपमा घाइते भएका सर्वसाधारण र शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको औषधोपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।
महासंघले कुनै पनि असन्तुष्टि, मतभेद वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै सामाजिक तथा साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि नगर्न सबै नागरिक, धार्मिक तथा सामाजिक व्यक्तिलाई अपिल गरेको छ ।
कुनै पनि प्रकारको उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न महासंघले आग्रह गरेको छ ।
यसैगरी, महासंघका विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।
सुनसरीको घटनाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लाहरूमा विरोधका कार्यक्रमहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै महासंघले शान्ति सुव्यवस्था कायम गरी सार्वजनिक यातायात निर्बाध रूपमा सञ्चालन हुने वातावरण बनाइदिन तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, आम सञ्चार माध्यम र सम्बद्ध सबै पक्षहरूसँग अनुरोध गरेको छ ।
