ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौं विस्थापित

काठमाडौं । ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन् । 

प्रभावित क्षेत्रका लगभग आठ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेथिम्नो क्षेत्रका उपगभर्नर मारिया लियोनीले सरकारी टिभी ईआरटीलाई जानकारी दिए।

बुधबार देखि सुरु भएको आगोले हाल सम्म दुई जना अग्नि नियन्त्रकको ज्यान लिएको उल्लेख गरिएको छ भने आगलागी साँझमा दिशा परिवर्तन गर्नुअघि प्रभावित गाउँको एक किलोमिटर भित्र पुगे पछि उक्त स्थनमा खतरा बढेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्त्रण  गर्ने निर्णय गरिएको जनाइएको छ ।

आगलागीले घर, कृषि सुविधा र जनावरहरू समेत जलेको अनुमान गरिएको छ यद्यपी आगलागी जारी रहेकाले मृतकको सङ्ख्या अझै यकिन नभएको लियोनीले बताए । 

दुई जना अग्निशामक क्रया भ्रीसी गाउँ नजिकैको पाहाडी सडकमा फसेको अवस्था रहदा र हावाको दिशा परिवर्तन हुँदै जाँदा आगोले जलेर उनीहरुको मृत्यु भएको जनाइएको छ । 

पेलोपोनिस प्रायद्वीपको गिथियो नजिकै छुट्टै आगो निभाउने प्रयासको क्रममा अर्को एक जना अग्नि नियन्त्रकको मृत्यु भएको जनाइएको थियो । 

अग्निशामक विभागले दक्षिण–पश्चिमी क्रेटको रेथिम्नो क्षेत्रमा २०० भन्दा बढी अग्निशामक र ५३ वटा फायर इन्जिनहरु सञ्चालन गरेको जनाइएको छ ।  

तटरक्षकका प्रवक्तालाई उदृत गर्दै एएफपीले एगिया ग्यालिनीमा चार वटा गस्ती डुङ्गाहरू अतिरिक्त निकासीमा मद्दत गर्न तयार रहेको जनाएको छ । तर अवस्था अत्यन्त कठिन भएको जनाइएको छ ।

 ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगलागी नियन्त्रण प्रयासमा ज्यान गुमाउने अग्निशामकको कार्यको प्रशंसा गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
 
लामो खडेरी, उच्च तापक्रम र तीव्र हावाका कारण ग्रिसले हरेक वर्ष जसो गर्मीमा विनाशकारी जङ्गली आगोको सामना गर्ने गरेको जनाइएको छ ।

नागरिक सुरक्षा मन्त्रालयले क्रेट, ग्रेटर एथेन्स क्षेत्र, पूर्वी पेलोपोनिस र अधिकांश एजियन टापुहरू सहित बिहीबारका लागि धेरै क्षेत्रहरूलाई अधिकतम आगोको सतर्कता कायम राखेको जनाइएको छ । 

Share News