काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई लक्षित गरी विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सह–प्रशासक भरतराज बस्तीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यसमार्फत कर्मचारीले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
तलब व्यवस्थापन खातासँगै ग्राहकको आवश्यकता अनुरूप बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराइनेछ ।
बैंकले विभिन्न सरकारी निकायका तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ । आधुनिक प्रविधिमा आधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई अझ गुणस्तरीय वित्तीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ ।