झडपपछि सुनसरीका ५ बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा लागू गरिएको छ ।

हरिनगर बजार क्षेत्रको पूर्वमा नुनियाटोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ ।

त्यसैगरी, भुटाहा बजार क्षेत्रको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु तोकिएको छ ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु आदेश लागू गरिएको छ ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु जारी गरिएको छ ।

यस्तै, देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
 

null

Share News