काठमाडौं । अमेरिकी विशेष फौज (स्पेशल फोर्सेस) ले इरानका कडा सुरक्षा घेराभित्र रहेका परमाणु केन्द्रहरूमा सैन्य इतिहासकै सबैभन्दा उन्नत अभियान सञ्चालन गर्ने तयारी गरिरहेको दाबी गरिएको छ ।
अभियानको उद्देश्य इरानसँग रहेको संवर्धित युरेनियम कब्जामा लिनु रहेको अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क पोस्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
उक्त रिपोर्टअनुसार यो अत्यन्तै जटिल अभियानका लागि हजारौं सैनिकलाई इरानका परमाणु केन्द्रहरूमा परिचालन गर्ने योजना बनाइएको छ ।
न्यूयोर्क पोस्टले सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का उपनिर्देशक जोसेफ रोजर्सलाई उद्धृत गर्दै वार्ता अपेक्षित गतिमा अघि नबढेकाले इरानको परमाणु सामग्री नियन्त्रणमा लिने सबैभन्दा सम्भावित विकल्प सैन्य अभियान हुन सक्ने जनाएको छ ।
सैन्य योजनाबारे जानकारी राख्ने एक स्रोतलाई उद्धृत गर्दै पोस्टले यो अभियानमा हजारौं सैनिकको आवश्यकता पर्न सक्ने जनाएको छ ।
ती सैनिकले परमाणु केन्द्रमा प्रवेश गर्ने, विस्फोटक हटाउने र यातायात मार्ग सुरक्षित बनाउने काम गर्नेछन् ।
त्यसपछि विशेष फौजको सानो टोलीले समृद्ध युरेनियम सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको बताइएको छ । स्रोतका अनुसार यो प्रक्रिया अत्यन्त जोखिमपूर्ण हुनेछ ।
जोसेफ रोजर्सले भने, ‘मेरो विचारमा यो सैन्य इतिहासकै सबैभन्दा उन्नत अभियानमध्ये एक वा सम्भवतः सबैभन्दा उन्नत अभियान हुनेछ। ’
उनले इरानको सैन्य क्षमता धेरै हदसम्म कमजोर भइसकेको दाबी गर्दै पनि उनीहरू अझै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सुरक्षा गर्ने क्युबाली टोलीभन्दा धेरै सक्षम रहेको बताए ।
अर्को रिपोर्टअनुसार सम्भावित विशेष अभियानमा अमेरिकी नौसेना सिल टिम सिक्सको सिल्भर स्क्वाड्रन, सेकेन्ड रेन्जर बटालियन र अमेरिकी सेनाको २१औं अर्डनेन्स कम्पनी सहभागी हुन सक्नेछन् ।
रिपोर्टमा उल्लेख भएअनुसार २१औं अर्डनेन्स कम्पनीले फोर्डो र इस्फहानस्थित परमाणु केन्द्रबाट समृद्ध युरेनियम सुरक्षित रूपमा व्यवस्थापन गरी अर्को स्थानमा सार्ने जिम्मेवारी पाउने सम्भावना छ ।
न्यूयोर्क पोस्टका अनुसार रोजर्सले सैनिकहरूले सबैभन्दा पहिले परमाणु केन्द्र वरिपरि सुरक्षा घेरा बनाउने र त्यहाँबाट विमानस्थलसम्म सुरक्षित मार्ग तयार गर्ने बताएका छन् ।
त्यसअघि अमेरिकी टोलीले केन्द्रभित्र प्रवेश गर्न नष्ट भएका प्रवेशद्वारहरू पनि सफा गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का अनुसार हाल इरानसँग ६० प्रतिशतसम्म समृद्ध गरिएको ४५० किलोग्रामभन्दा बढी युरेनियम रहेको छ ।