एडिबीको ४६ अर्ब लगानीमा काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) मार्फत पाँचवटा प्याकेजमा विभाजन गरी ९५ किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्डअन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक रहेको छ ।

आयोजनाले दिएको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकडभिट्टा–सीतापुरी) को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । त्यस्तै, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ) को प्रगति ४२ प्रतिशत र तेस्रो प्याकेज (मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म) को भौतिक प्रगति १९ प्रतिशत रहेको छ ।

काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिल पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा साढे १६ किलोमिटर सडकको पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । मौसमले साथ दिए एक सातामा थप ७ किलोमिटर सडक कालोपत्रे गर्न सकिने उनले बताए । दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘हामीले ४४.३ किलोमिटरमध्ये ११ किलोमिटर सडकमा चारै लेनको पहिलो तह (५ सेन्टिमिटर बाक्लो डेन्स बिटुमिनस म्याकाडम–डिबिएम) कालोपत्रे गरिसकेका छौँ । बाँकी ५ किलोमिटरमा दायाँ वा बायाँतर्फको काम सकिएको छ । अहिले ५–६ किलोमिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा छ । मौसम अनुकूल हुनासाथ एक साताभित्रै सो कार्य सम्पन्न हुनेछ ।’

मौसमले साथ दिएमा दैनिक ४ सयदेखि ८ सय मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने योजना आयोजनाको छ ।

सन् २०२४ फेब्रुअरी २ देखि निर्माण सुरु गरिएको यस सडकको स्तरोन्नति कार्य सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । हाल सडकको बीच भागमा ३ मिटरको ‘मिडियन’ (डिभाइडर) राखेर दुवैतर्फ विस्तार गर्ने काम भइरहेको छ । वर्षात्का कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ ।

Share News