कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् ।

सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे । आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको भए पनि घोडाबाट लडेपछि जिउको धुलो टकटक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिए । उनले जनआन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे ।

सहसंयोजक नेपालले भने, ‘नरबहादुर कर्माचार्यसँग जोडिएका धेरै स्मृतिहरू र ऐतिहासिक सामग्रीहरू सम्भवतः यस प्रतिष्ठानले सङ्कलन र प्रकाशन गरेको पनि होला । उहाँसँग सम्बन्धित अभिलेखहरू पनि सुरक्षित रूपमा राखिएका होलान् । मेरो आग्रह के हो भने इतिहासका ती महत्त्वपूर्ण घटनाक्रमहरू अवश्य पनि सुरक्षित राखिनुपर्छ ।’ 

नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविस्मरणीय रहेको बताए ।

विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पुर्याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गरे । इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पुर्याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताए । 

Share News