स्थानीय तहमा भूमि बैंक सञ्चालनको बाटो खुल्यो, बाँझो जग्गा उपयोगमा ल्याइने

काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपयोगमा नरहेका वा बाँझो निजी जग्गालाई सम्बन्धित स्थानीय तहमार्फत उपयोगमा ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ ।

मन्त्रालयका अनुसार भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) बमोजिम प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालन गर्ने कानुनी व्यवस्था गरिएको छ ।

यसका लागि सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरी सबै स्थानीय तहमा परिपत्रसमेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत भूमि बैंकको व्यवस्था कार्यान्वयन गरी उपयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक प्रयोजनमा ल्याउन सकिने उल्लेख गर्दै यसबाट लाभ लिन इच्छुक सबैलाई सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरेको छ ।  

Share News