काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि तथा व्यवसाय प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी र व्यवसायीसँग आज छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम छ ।
छलफलमा नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, बजारीकरण, व्यापार तथा उपभोग प्रवर्द्धनका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ ।
नेपाल अर्ग्यानिक संघ अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका लागि क्रियाशील संस्था हो ।
प्रधानमन्त्री शाहले उद्योग तथा व्यवसायको विकासका लागि विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित संवाद गर्दै उनीहरूका जायज माग र सुझाव सम्बोधन गर्ने प्रयास गर्दै आएका छन् ।