काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार आज साउन ६ गते एकै दिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रतिवादीलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
पक्राउ परेकामध्ये सबैभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् । त्यस्तै चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गाली बेइज्जती र सवारी अङ्गभङ्गलगायत विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेको प्रहरी उपरीक्षक न्यौपाने बताए ।
पक्राउ परेका अदालतबाट छ दिनदेखि चार वर्षसम्म कैद सजाय तथा ५०० देखि एक लाख ५० हजारसम्म जरिवाना तोकिएको थियो ।
अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीलाई निरन्तर खोजी गरी पक्राउ गर्ने अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।