काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्ति विरुद्ध प्राप्त उजुरीमाथि छलफल गर्ने तथा उनीहरूले पेस गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै, निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित उम्मेदवारहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट उनीहरूको नियुक्ति हुने व्यवस्था छ ।