बीपी स्मृति दिवसमा देउवा पक्षको शक्ति प्रदर्शन साउनभित्र राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ४४औँ बीपी स्मृति दिवसका अवसरमा पार्टी संस्थापन पक्षबाट अलग्गै कार्यक्रम आयोजना गर्ने भएको छ । यससँगै कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप स्पष्ट देखिएको छ ।

संस्थापन पक्षले बीपी स्मृति दिवसका अवसरमा ग्रीन रन लगायतका कार्यक्रम तय गरिरहेको बेला देउवा पक्षले भने साउन ६ गते काठमाडौंस्थित प्रज्ञा भवनमा छुट्टै स्मृति सभा गर्ने निर्णय सार्वजनिक गरेको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार कार्यक्रम व्यवस्थापनका लागि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

देउवा पक्षले सोही कार्यक्रममा पार्टीको आगामी राजनीतिक रणनीतिसँग जोडिएको राष्ट्रिय भेलाको मिति, स्थान र समयसमेत सार्वजनिक गर्ने जनाएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको यो समूहले यसअघि विभिन्न प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने अब केन्द्रीय स्तरको राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको हो ।

विश्वकर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनको अवस्था र समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताए । पत्रकार सम्मेलनमा देउवा पक्षले पार्टी एकताका लागि भएका प्रयास सफल हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ ।
विश्वकर्माले पार्टीभित्र सहमति र एकताको वातावरण बनाउन पटक–पटक संवाद र छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता नदेखिएकाले सहमति जुट्न नसकेको बताए । उनले वार्ता र छलफल निरन्तर जारी रहे पनि अहिलेसम्म त्यसले ठोस परिणाम दिन नसकेको उल्लेख गर्दै पार्टी एकताको सम्भावना क्रमशः कमजोर बन्दै गएको निष्कर्षमा आफूहरू पुगेको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतलगायतको उपस्थिति रहेको थियो ।

Share News