काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६२औं इन्जिनियर दिवसको अवसरमा नेपालको नवनिर्माण, पूर्वाधार विकास र प्रविधि रूपान्तरणमा इन्जिनियरहरूको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशभरका इन्जिनियर, आर्किटेक्ट र प्राविधिकहरूलाई शुभकामना व्यक्त गरे ।
इन्जिनियरिङ र युवा शक्ति यस वर्षको मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रपति पौडेलले देशको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताए ।
युवा इन्जिनियरहरूको नवीन सोच र प्राविधिक कौशलले मात्र समृद्ध नेपालको सपना साकार हुने उनको भनाइ थियो ।
उर्जा, यातायात, सूचना प्रविधि, सहरी विकास र वातावरण संरक्षण जस्ता क्षेत्रमा इन्जिनियरहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिले आगामी दिनमा गरिने प्राविधिक विमर्शहरूले देशको नीति निर्माणमा
मार्गदर्शकको काम गर्ने विश्वास व्यक्त गरे ।
भौगोलिक रूपमा जटिल र प्राकृतिक स्रोतले धनी नेपालमा वातावरणमैत्री पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै राष्ट्रपतिले हाम्रा सडक, पुल र जलविद्युत आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्नेमा जोड
दिए ।
विकासको अवधारणालाई जनताको कल्याण र प्रकृतिसँग जोड्नुपर्ने उनको सुझाव थियो ।
उच्च शिक्षा हासिल गरेका दक्ष इन्जिनियरहरू रोजगारी र अवसरको खोजीमा विदेशिने क्रम बढ्दै गएकोप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरे ।
उनले सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियरहरूका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय मुद्दाहरूलाई सम्बोधन गर्ने बताउँदै राष्ट्रपति पौडेलले लोकतन्त्रको सुन्दरतालाई व्यवहार र आचरणमा उतार्न सके मात्र लक्षित उद्देश्य पूरा हुने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रपतिले सम्पूर्ण युवा इन्जिनियरहरूलाई आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गरी आफ्नै माटोमा समुन्नत र विकसित नेपाल निर्माणको अभियानमा जुट्न आह्वानसमेत गरे ।