इन्जिनियरिङलाई पेशा मात्र होइन, राष्ट्र निर्माणको अभियान बनाउनुपर्छ : मन्त्री  श्रेष्ठ

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको समृद्धिका लागि इन्जिनियरहरूको भूमिका अपरिहार्य र प्रेरणादायी रहेको बताएका छन् । 

६२ औं इन्जिनियर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको हरेक पाइलामा इन्जिनियरहरूको प्राविधिक ज्ञान र सीपको
ठूलो महत्त्व रहेको उल्लेख गरे ।

पूर्वाधार विकासमा गुणस्तरको खोजी सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । 

उनले सडक, पुल, जलविद्युत्, सिँचाइ, र सूचना प्रविधि जस्ता आधुनिक पूर्वाधार नै देशको समृद्धिको आधार भएको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘हामी अहिले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेका छौं । अब योजनाको सफलता बजेट खर्चले मात्र होइन, समयमै सम्पन्न हुने र नागरिकले पाउने
प्रत्यक्ष लाभले मापन गरिनेछ ।’

ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अगाडि बढाइएको बताउँदै उनले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण लाइनको सुदृढीकरण र क्षेत्रीय विद्युत् व्यापारमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक रहने विश्वास व्यक्त गरे ।

उनले इन्जिनियरहरूलाई व्यावसायिक दक्षता, नैतिकता र नवप्रवर्तनलाई आत्मसात गर्दै काम गर्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले इन्जिनियरिङलाई एउटा पेशाको रूपमा मात्र नभई राष्ट्र निर्माणको महान् अभियानका रूपमा लिनुपर्नेमा जोड दिए । 

उनले भने, ‘एउटा राम्रो डिजाइन र गुणस्तरीय निर्माणले लाखौनागरिकको भविष्य बदल्न सक्छ । पुलले दुई किनार मात्र जोड्दैन, यसले विश्वास जोड्छ । सडकले दूरी मात्र घटाउँदैन, विकासको ढोका खोल्छ र विद्युत्ले बत्ती मात्र बाल्दैन, उद्योग र समृद्धिको सम्भावनालाई उज्यालो बनाउँछ।’

मन्त्रीले इन्जिनियरहरूलाई सार्वजनिक उत्तरदायित्व वहन गर्दै भ्रष्टाचारमुक्त र पारदर्शी कार्यसंस्कृति विकास गर्न आह्वान गरे ।

दक्षता हाम्रो शक्ति, इमान्दारिता हाम्रो पहिचान र नवप्रवर्तन हाम्रो भविष्य हुनुपर्छ भन्दै उनले इन्जिनियरिङ क्षेत्रको गरिमा उच्च राख्न सबैलाई एकजुट हुन आग्रहसमेत गरे ।

कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका पदाधिकारीहरू, विभिन्न मन्त्रालयका सचिवहरू र देशभरका इन्जिनियरहरूको उपस्थिति रहेको थियो ।

Share News