२३ जिल्ला 'रेड जोन' मा: भारी वर्षाको जोखिमका कारण रात्रिकालीन सवारी चलाउन रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोको उच्च जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न निर्देशन दिने निर्णय गरेको छ । 

शनिबार बसेको प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावनाबारे छलफल भएको थियो । 

बैठकले आवश्यकता अनुसार जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

बैठकले पहिरो तथा बाढीको जोखिम रहेका राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका हेभी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् हुनुअघि नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरिएको छ ।

मनसुनजन्य विपद्को सम्भावित प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले पूर्वतयारी, समन्वय र प्रतिकार्यलाई प्रभावकारी बनाउन बैठकले सम्बन्धित सबै निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई रातो रङ अर्थात् प्रतिकार्य गर्नुपर्ने सूचीमा राखेको छ ।

Share News