काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक पूर्वाधारसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले झापा, बागलुङ, मकवानपुर र चितवनका सामुदायिक विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको जनाएको छ । यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्री कृष्ण आधारभूत विद्यालयका ८० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ ।
बाराको सिमरास्थित सिमरा कलेजलाई शैक्षिक गतिविधि प्रवर्द्धनका लागि एक थान ल्यापटप उपलब्ध गराइएको छ भने बझाङको शिक्षोदय माध्यमिक विद्यालयको किशोरीमैत्री सूचना केन्द्रका लागि स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरवनाथ मन्दिरमा फोहोर व्यवस्थापनका लागि १० थान डस्टबिन हस्तान्तरण गरिएको छ । मकवानपुरको भीमफेदीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आरओसहितको खानेपानी प्रणाली निर्माणका लागि सहयोग गरिएको बैंकले जनाएको छ । साथै, रौतहटको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई डिजिटल बोर्डसमेत प्रदान गरिएको छ ।
महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानव सेवा तथा दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।