राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार अबदेखि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषलगायत अवकाश कोषहरूको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ । हाल बैंकमा दुई हजार ९५५ कर्मचारी कार्यरत छन् ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखामार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Share News