काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकका अनुसार देशभर रहेका आफ्ना १४८ शाखामार्फत महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य समुदायलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट करिब १० हजार जनाले वित्तीय ज्ञान प्राप्त गरेका बैंकले जनाएको छ ।
कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, बैंकिङ कारोबारमा अपनाउनुपर्ने सावधानी तथा साइबर जोखिम न्यूनीकरणका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोगसमेत गरेको जनाएको छ । यसअन्तर्गत सुर्खेतको साक्रेगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका १९६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरिएको छ ।
सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ लगायतका नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।