छोटो अवधिमै फेरियो सचिव राउतको जिम्मेवारी, ६ सचिवको सरुवा

काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै एकैपटक ६ जना सचिवको सरुवा गरेको छ । मंगलबार (असार ३०) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो । 

सरुवाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । राउत तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका थिए । छोटो अवधिमै उनको पुनः जिम्मेवारी परिवर्तन गरिएको हो ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

Share News