ब्यालेन्ससिटमा नियामकीय दबाब, निरन्तर प्रोभिजनिङले नाफा घट्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसँगै बैंकरहरू वार्षिक वित्तीय विवरणको तयारीमा जुटेका छन् । वर्षभरी बैंकहरूको नाफा, खराब कर्जा (एनपीएल) र प्रोभिजनिङ लगायतमा कस्तो प्रगति गरेका छन् भन्ने चासो लगानीकर्ता र सेयरधनीहरुको रहन्छ । बैंकरहरू समग्रमा कर्जा असुलीमा केही सुधार देखिए पनि अर्थतन्त्र पूर्ण रूपमा लयमा नफर्किएको र नियामकीय व्यवस्थाका कारण चौथो त्रैमासको वित्तीय विवरणमा अपेक्षित सुधार नदेखिन सक्ने बताउँछन् ।

अर्थतन्त्र पूर्ण रूपमा सुधार नभएकाले खराब कर्जा उल्लेख्य रूपमा घट्ने सम्भावना कम छ तर त्यति धेरै पनि नबढ्ने बैंकरहरु बताउँछन् । राष्ट्र बैंकको निरन्तर प्रोभिजनिङको व्यवस्था र आर्थिक गतिविधिमा रहेको सुस्तताका कारण चौथो त्रैमासको वित्तीय विवरणमा दबाब कायम रहने उनीहरुको भनाइ छ । 

सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बबिसिंह गड्तौलाले बैंकको कर्जा असुली सन्तोषजनक रहे पनि अर्थतन्त्रमा अपेक्षित सुधार नआएकाले चुनौती अझै कायम रहेको बताए । उनका अनुसार आपूर्ति श्रृंखलामा आएको अवरोध, कम्पनीहरूको कमजोर नगद प्रवाह र रिसिबल व्यवस्थापन कमजोर हुँदा व्यवसायमा तरलता अभाव देखिएको छ । बजारको अवस्थाले केही ऋणीमा कर्जा भुक्तानी पछाडि सार्न सकिन्छ भन्ने मनोवृत्ति पनि विकास भएको उनको भनाइ छ । यद्यपि बैंकले तय गरेको योजनाअनुसार काम भइरहेको उनले बताए ।

गड्तौलाले चालु आर्थिक वर्षमा खराब कर्जा अघिल्ला त्रैमासको तुलनामा सुधार हुने अपेक्षा व्यक्त गरे । तर, राष्ट्र बैंकको कन्टिन्यूअस प्रोभिजनिङ व्यवस्थाका कारण कर्जा नियमित भइसकेपछि पनि केही समयसम्म खराब कर्जामा राख्नुपर्ने बाध्यता रहेकाले वित्तीय विवरणमा खराब कर्जा वास्तविक अवस्थाभन्दा बढी देखिन सक्ने उनले बताए ।

‘विगतमा यस्तो व्यवस्था निरन्तर लागू नभएकाले कर्जा तिरेपछि तत्काल एनपीएबाट बाहिरिने अवस्था थियो । अहिले भने कर्जा नियमित भए पनि नियामकीय व्यवस्थाका कारण केही समयसम्म एनपीएमा नै रहने भएकाले वार्षिक रूपमा एनपीएल उच्च देखिन सक्ने सम्भावना छ । त्यसैले वार्षिकभन्दा त्रैमासिक (क्वार्टर–टु–क्वार्टर) तुलना गर्दा वास्तविक सुधार स्पष्ट देखिने छ,’ उनले भने । 

राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनयरमण पौडेल समग्र बैंकिङ क्षेत्रको अवस्था सकारात्मक रहेको बताउँछन् । उनका अनुसार बैंकहरूमा कर्जा असुली (रिकभरी) सन्तोषजनक भइरहेको छ, यद्यपि कर्जा विस्तार (क्रेडिट ग्रोथ) ले अपेक्षित गति लिन सकेको छैन ।

पौडेलले आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकहरू वित्तीय विवरण तयारीको चरणमा रहेकाले केही दबाब भए पनि यसपटक आशावादी हुने आधार रहेको बताए । उनका अनुसार पछिल्लो समय रिकभरी राम्रो भइरहेकाले खराब कर्जा (एनपीएल) घट्ने सम्भावना देखिएको छ ।

उनले अन्य कुनै नकारात्मक कारक नदेखिएकाले एनपीएल कम्तीमा पनि हालकै स्तरमा स्थिर रहने विश्वास व्यक्त गरे । साथै, ग्राहकहरूमा समयमै कर्जा तिर्नुपर्छ भन्ने चेतना र मानसिकता बढ्दै गएको संकेत देखिएकाले त्यसले पनि बैंकहरूको कर्जा असुलीमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खानियाले बजारमा केही सुधारका संकेत देखिए पनि चौथो त्रैमासमा बैंकिङ क्षेत्रको वित्तीय अवस्थामा ठूलो परिवर्तन नआउने बताए । उनका अनुसार पछिल्लो समय बजारमा चहलपहल बढ्न थालेको छ । ग्राहकहरू कर्जा चुक्ता गरेर दायित्वबाट मुक्त हुने प्रयासमा छन् भने घरजग्गा कारोबारमा पनि सुधारको संकेत देखिएको छ । यद्यपि यसले चौथो त्रैमासको वित्तीय विवरणमा उल्लेखनीय प्रभाव पार्ने अवस्था नरहेको उनको भनाइ छ । खराब कर्जा (एनपीएल) केही बढे पनि सामान्य उतारचढावमै सीमित रहने उनको अनुमान छ ।

खानियाले कन्टिन्यूअस प्रोभिजनिङ व्यवस्थाले बैंकहरूको खर्चमा उल्लेखनीय दबाब पर्ने बताए । ‘कुनै कर्जा ९० दिनभन्दा बढी बक्यौता भएपछि त्यसमा २५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्छ । त्यसपछि ऋणीले सम्पूर्ण बक्यौता तिरेर कर्जा नियमित गरे पनि नियामकीय व्यवस्थाअनुसार अर्को २–३ त्रैमास वा तोकिएको अवधिसम्म प्रोभिजनिङ कायम राख्नुपर्ने हुन्छ । यसले प्रोभिजनिङ फिर्ता गर्न नपाउँदा बैंकको खर्च बढ्ने र नाफामा असर पर्छ,’ उनले भने । 

उनले हाल बैंकहरूको औसत खराब कर्जा साढे ५ प्रतिशत हाराहारीमा रहेको उल्लेख गर्दै चौथो त्रैमासमा पनि यही वरिपरि रहने सम्भावना रहेको बताए । खानियाले अहिलेको अर्थतन्त्र, व्यवसायिक वातावरण र नियामकीय व्यवस्थाबीच तालमेल नहुँदा बैंकहरू दबाबमा परेको बताए । ‘व्यवसायमा नगद प्रवाह अनिश्चित छ, साना तथा मझौला उद्यम (एसएमई)देखि ठूला कर्पोरेटसम्म बिक्रीमा उतारचढाव देखिएको छ । यस्तो अवस्थामा केही महिना किस्ता तिर्न नसक्नु सामान्य जस्तै भए पनि कडा प्रोभिजनिङ व्यवस्थाले बैंकको लागत बढाइरहेको छ,’ उनले भने । 

उनका अनुसार व्यवसायको आम्दानी र नगद प्रवाह पूर्वानुमान गर्न कठिन भइरहेका बेला ६ महिनासम्म ५० प्रतिशत र एक वर्षपछि शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था तथा चेक अनादर भएर कालोसूचीमा परेमा तत्काल शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने प्रावधानले बैंकिङ क्षेत्रलाई थप दबाबमा पारेको छ ।

सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अमित खनालले आर्थिक वर्षको अन्त्यसँगै बैंकहरूमा कर्जा असुली (रिकभरी) को दबाब बढेको भए पनि समग्रमा रिकभरी अपेक्षाअनुसार हुन नसकेको बताए । उनका अनुसार अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव सबै बैंकमा परेको छ ।

खनालका अनुसार खराब कर्जा (एनपीएल) पूर्ण रूपमा बैंकको नियन्त्रणमा हुँदैन । ग्राहकले समयमै कर्जा नतिरे एनपीएल स्वतः बढ्ने भएकाले बैंकले निरन्तर फलोअप गरे पनि चुनौती अघिल्ला वर्षको तुलनामा बढेको छ । मधेश प्रदेशलगायत केही क्षेत्रमा रिकभरी राम्रो भए पनि कतिपय क्षेत्रमा अवस्था कमजोर रहेकाले समग्रमा एनपीएल घट्नेभन्दा स्थिर रहने सम्भावना बढी रहेको उनको भनाइ छ ।

उनले कन्टिन्यूअस प्रोभिजनिङ व्यवस्थाले चौथो त्रैमासको वित्तीय विवरणमा प्रत्यक्ष असर पार्ने बताए । उनका अनुसार चैतमा निष्क्रिय (एनपीए) वर्गमा परेको कर्जा असारमै नियमित भए पनि त्यसलाई तत्काल नियमित कर्जामा फर्काउन नपाइने र असोजमा मात्रै प्रभाव देखिने व्यवस्था छ । त्यसका कारण चौथो त्रैमासमा भएको रिकभरीको सकारात्मक प्रभाव ब्यालेन्ससिट र नाफामा तत्काल नदेखिने उनको भनाइ छ । उनका अनुसार यसले आम्दानी देखिने समय कम्तीमा एक त्रैमास पछाडि धकेलिएको छ ।

खनालले कर्जा लिएपछि समयमै भुक्तानी नगर्दा त्यसको असर अन्ततः बैंकको नाफामै पर्ने बताए । यस्तो अवस्थामा नीतिगत सहुलियतले मात्रै समस्या समाधान नहुने र ऋणीमा पनि समयमै कर्जा तिर्ने अनुशासन आवश्यक रहेको उनको धारणा छ । 

विगतमा आर्थिक वर्ष सकिएपछि साउन १५ गतेसम्म उठेको रकमलाई पनि अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणमा समावेश गर्न पाइने व्यवस्था थियो । अहिले उक्त व्यवस्था हटाइएकाले यस वर्ष चौथो त्रैमासको ब्यालेन्ससिटमा त्यसको प्रभाव देखिन सक्ने उनले बताए । उनका अनुसार धेरै ऋणी अझै पनि पुरानै अभ्यासअनुसार साउन १५ गतेसम्म कर्जा तिर्दा पनि हुने भन्ने सोचमा रहेकाले नयाँ व्यवस्थामा उनीहरू पूर्ण रूपमा अभ्यस्त भइसकेका छैनन् । यही कारण पनि यस वर्षको वित्तीय विवरणमा केही अतिरिक्त दबाब देखिन सक्ने उनको निष्कर्ष छ । 

Share News