काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको तयारी र यसका मुख्य आकर्षणहरूबारे विस्तृत जानकारी दिएको हो ।
नाइमाका अनुसार ६ दिनसम्म चल्ने यस वृहत् प्रदर्शनीमा ५३ भन्दा बढी अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । अटोमोबाइल क्षेत्रको यो महाकुम्भमा ४० भन्दा बढी नयाँ सवारीसाधनहरू (दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक, विद्युतीय र हाइब्रिड) नेपाली बजारमा पहिलो पटक सार्वजनिक (लन्च) गरिने नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् ।

वैद्यले भनिन्, ‘एक वर्षअघि २१ वटा सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ वटा कम्पनीहरू आबद्ध भइसकेका छन् । यसले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दै गरेको विश्वासलाई झल्काउँछ ।’
टिकट आम्दानीको १० प्रतिशत अनुसन्धानमा खर्च गरिने नाइमाले घोषणा गरेको छ । एक्स्पोबाट संकलित टिकट बिक्रीको कुल रकममध्ये १० प्रतिशत अनुसन्धान फेलोसिपका लागि छुट्याइनेछ ।
यस रकमबाट मोबिलिटी क्षेत्रमा गरिने अनुसन्धानका प्रतिवेदनहरूलाई नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिनेछ । जसले नेपालको यातायात प्रणालीको विकास र तथ्याङ्क व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रले भोगिरहेको नीतिगत र पूर्वाधारजन्य समस्याबारे पनि चर्चा गरिन् । पूर्वाधारले गर्दा प्रदर्शनीमा कठिनाइ हुने गरेको भन्दै नाइमाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणका लागि सरकारसँग माग गरेको छ ।

साथै सवारीसाधनमा लाग्ने उच्च कर घटाउन र खुकुलो मौद्रिक नीति (विशेषगरी ८०/२० को लोन रेसियो) का लागि सरकारका विभिन्न मन्त्रालयहरूसँग निरन्तर लबिङ गरिरहेको जानकारी बताएको छ ।
नाइमाले केवल व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिएको छ । नाइमाले १ हजार ६१० जना ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम दिइसकेको छ भने एक्स्पोको अवधिमा ‘मोबिलिटी संवाद’ जस्ता लर्निङ सेसनहरू सञ्चालन गरिनेछ ।
यसबाट विद्यार्थी, पेशेवर र आम उपभोक्ताले यातायात क्षेत्रको नयाँ प्रविधि र सडक सुरक्षाबारे जानकारी पाउनेछन् ।
नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् । माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ ।
यस वर्ष पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ । नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ ।

दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ ।
२१ सदस्यबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । ‘सबैका लागि मोबिलिटी’ भन्ने मूल नाराका साथ आयोजना हुने यस एक्स्पोले नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजकले लिएको छ ।
एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने पावर्ड बाई पार्टनरको रूपमा रेड बुल नेपाल जोडिएको छ । टिकेटिङ पार्टनरको रूपमा आईएमई पे रहेको छ । एक्स्पोको टिकट दर विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।
