काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित भए पनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पालिका प्रमुखसहित तीन जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि कानुनी व्यवस्था अनुसार उनको पद स्वतः रिक्त भएको हो ।
आयोगले मंगलबार सूचना जारी गर्दै कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढासहित तीन जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
आयोगका अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन् । अन्सारी र ढकाल दुवै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गुठीचौर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । हालै उनी कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २९ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जनाएको छ । उक्त कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कांग्रेसबाट निर्वाचित ती जनप्रतिनिधिहरू अन्य दलमा आबद्ध भएको निर्णयसहित आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगको असार ८ गते बसेको बैठकले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ ।