काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले विष्णु पौडेललाई भर्खरै काठमाडौं पुर्याइएको विकासन्युजलाई जानकारी दिए ।
उनलाई स्थलमार्ग हुँदै काठमाडौं पठाइएको उनले बताए । सोमबार सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको थियो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको थियो । उनी पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न सुर्खेत पुगेका थिए ।
पौडेल आठौं पटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बनिसकेका छन् । २०७२ कात्तिक, २०७७ असोज, २०७८ जेठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, २०७९ पुस उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र २०८१ असार उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका हुन् ।