हाइड्रो र शौर्य आयोजनालाई प्रगति विवरण पेश गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा शौर्य विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले विभिन्न प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूले कम्तीमा प्रत्येक चौमासिकमा आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो ।

विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई हाल निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई ७ दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा सम्बन्धित विभागमा पेश गर्न निर्देशन दिइएको हो ।

प्रगति प्रतिवेदनको ढाँचा विभागबाट उपलब्ध गराइने उल्लेख गरिएको छ । तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

Share News