काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आउँदो मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । शुक्रबार र शनिबार (असार ५–६) बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तोकिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन समेत बैठकबाट गरिएको छ । समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृसंगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।
आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको उनले जानकारी दिए । केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई बैठकबाट परिमार्जनसहित पारित गरिएको छ ।
पारित कार्यतालिकाअनुसार आउँदो भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ । सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ मसान्तसम्म सञ्चालन गरिने उनले बताए ।
उक्त अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्य मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उमेदवार बन्न पाउने व्यवस्था गरिएको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङ्देनले जानकारी दिए ।
असोज १५ देखि २४ गतेभित्र सातै प्रदेशका प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।
छनोट भएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ । प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ ।