काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सरकारको शासकीय सुधारका १०० बुँदामध्ये बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको एमएसपी सम्बन्धी कार्य सम्पन्न भएको हो ।
मन्त्री गीता चौधरीले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरी लागू गरिसकेकी छिन् । सोको आधारमा खाद्यान्न बालीको एमएसपीमा उल्लेखनीय प्रगति हासिल भएको छ । उक्त निर्देशिका वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
मन्त्री चौधरीले निर्देशिकाअनुसार बाली लगाउनुअघि नै एमएसपी निर्धारण हुने भएकाले किसानले आफू अनुकूल बाली छनोट गर्न सक्ने बताइन् । यसले किसानलाई आफ्नो लागत, सम्भावित आम्दानी तथा बजारको अवस्थाअनुसार बाली लगाउने, नलगाउने वा वैकल्पिक खेती रोज्ने निर्णय गर्न सहज हुने उनको भनाइ छ ।
‘किसानले पाउने मूल्य पहिले नै निर्धारण भएपछि सोही आधारमा उक्त बाली लगाउने वा अन्य विकल्प खोज्ने विषयमा निर्णय गर्न सक्नुहुन्छ,’ उनले भनिन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको एमएसपी मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य पनि जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्धारण गरेको छ । निर्णयअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ ।
यता, आगामी आर्थिक वर्षका लागि वर्षे मकैको एमएसपी निर्धारणको प्रक्रिया मन्त्रालयले अघि बढाएको छ । यसअघि वर्षे मकैको एमएसपी तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण गर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।
उखुको हकमा भने आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम खरिद मूल्य मन्त्रिपरिषद्को २०८२ मंसिर २२ गतेको निर्णयबाट निर्धारण भइसकेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उखुको न्यूनतम खरिद मूल्य सम्बन्धी प्रस्ताव २०८३ कार्तिक मसान्तभित्र मन्त्रिपरिषदमा पेश गरिनेछ ।
सरकारको शासकीय सुधारका १०० बुँदामध्ये बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको एमएसपी सम्बन्धी कार्य सम्पन्न भएको हो ।