काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ त्यागेर काम गर्न निर्देशन दिएका छन् ।
उनले व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुनेगरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
शुक्रबार आ-आफ्नो कार्यक्षेत्रमा खटिन जान लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन् ।
नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही बहन गर्न निर्देशन दिए ।
सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुनेगरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ९आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उनले निर्देशन दिएका हुन् ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवं समसामयिक विषयमा निर्देशन समेत दिएका हुन् ।