उबर नेपालमा भित्रियो, पर्यटन र शहरी यातायातमा नयाँ सम्भावना

काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ कम्पनी उबरले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपाल एशिया–प्रशान्त (एप्याक) क्षेत्रको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा एक दशकपछि नयाँ बजार विस्तार भएको हो ।

कम्पनीका अनुसार नेपालमा ‘उबर गो’ र ‘उबर कम्फर्ट’ चारपांग्रे सवारी सेवासँगै दुईपांग्रे ‘उबर बाइक’ सेवा पनि उपलब्ध हुनेछ । यी सेवामार्फत यात्रुहरूले काठमाडौं उपत्यकाभित्र सजिलो, भरपर्दो र सुविधाजनक यात्रा गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नेपाल ७० भन्दा बढी देशमा फैलिएको आफ्नो विश्वव्यापी सञ्जालमा जोडिएको छ । यसले प्रयोगकर्तालाई एउटै एपमार्फत विभिन्न देश र शहरमा सहज रूपमा यात्रा सेवा लिन सक्ने सुविधा दिनेछ ।

उबरका एशिया–प्रशान्त क्षेत्रीय राइड्स महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई तीव्र गतिमा विकास भइरहेको र डिजिटल प्रयोग बढ्दै गएको बजारका रूपमा व्याख्या गरेका छन् । 'एक दशकपछि दक्षिण एसियामा नयाँ बजार प्रवेशका रूपमा नेपाल हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो,' उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 'यातायात पहुँच सुधारले पर्यटन विकासमा टेवा पुर्याउनेछ,' उनले भने ।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक र डिजिटल यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमको रूपमा लिएका छन् । उनका अनुसार यसले शहरी यातायात सुधारसँगै रोजगारी सिर्जनामा समेत योगदान दिने अपेक्षा गरिएको छ ।

Share News