नेपालमै २० हजार रोयल इनफिल्ड उत्पादन, ९ महिनामा ४ अर्ब आम्दानी

करिब एक लाख वर्गफुट क्षेत्रफलमा अत्याधुनिक मोटरसाइकल एसेम्बल उद्योग ।

काठमाडौं । त्रिवेणी ग्रुपअन्तर्गत रहेको टीजी अटो ग्रुप प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभरिको तुलनामा बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीका अनुसार मोटरसाइकल बिक्री संख्या बढ्नु र बिक्री मूल्यमा सुधार आउनुले आम्दानी वृद्धि भएको हो । समीक्षा अवधिमा सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ । बिक्री लागत घटेसँगै सञ्चालन नाफाको मार्जिन ६.५७ प्रतिशतबाट बढेर ८.४८ प्रतिशत पुगेको छ । त्यसैगरी, कुल नगद सञ्चिति १९ करोड ७० लाख रुपैयाँबाट बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

टीजीपीएलको आम्दानी निरन्तर बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०२२ मेमा स्थापना भएको टीजीपीएल नेपालमा रोयल एनफिल्ड मोटरसाइकलको एकमात्र आधिकारिक निर्माता तथा आपूर्तिकर्ता हो । कम्पनीले बारा जिल्लामा करिब एक लाख वर्गफुट क्षेत्रफलमा अत्याधुनिक मोटरसाइकल एसेम्बल उद्योग सञ्चालन गरेको छ, जसको वार्षिक उत्पादन क्षमता २० हजार मोटरसाइकल रहेको छ ।

सन् २०२३ मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको प्रधान कार्यालय काठमाडौंमा छ । कम्पनीका अध्यक्ष वीरेन्द्रकुमार संघाई हुन् । उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा लामो अनुभवी उनी एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रवर्द्धकका साथै अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशकसमेत हुन्।

टीजीपीएलले भारतस्थित आइशर मोटर्सबाट आयात गरिएका छुट्टाछुट्टै पुर्जा नेपालमै एसेम्बल गरी रोयल एनफिल्ड मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपाल सरकारले पूर्ण रूपमा तयार मोटरसाइकलको तुलनामा संयोजन उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत र भन्सार महसुलमा २५ प्रतिशत छुट दिँदै आएकाले कम्पनीले लागतमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गरेको जनाएको छ । यही सहुलियतका कारण प्रतिस्पर्धी मूल्यमा मोटरसाइकल उपलब्ध गराउन र बिक्री विस्तार गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

कम्पनीले उत्पादन गरेका मोटरसाइकल नेपालका आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिमार्फत बिक्री हुँदै आएका छन् । काठमाडौं उपत्यकामा हुने अधिकांश बिक्री नगदमा हुने गरेको छ भने बाहिरी जिल्लाका डिलरलाई बढीमा एक महिनासम्मको उधारो सुविधा दिइन्छ ।

गत आर्थिक वर्षको नौ महिनामा कम्पनीको औसत रकम असुली अवधि चार दिन, मौज्दात अवधि २५ दिन तथा आपूर्तिकर्तालाई भुक्तानी अवधि ६ दिन पुगेको छ । यससँगै कम्पनीको खुद सञ्चालन चक्र २६ दिनबाट घटेर २२ दिनमा सीमित भएको छ, जसले कार्यशील पुँजी व्यवस्थापन अझ प्रभावकारी बन्दै गएको संकेत गरेको छ । 

प्रिमियम मोटरसाइकल बजारमा रोयल एनफिल्डले नेपालमा बलियो ग्राहक आधार बनाइसकेको कम्पनीको दाबी छ । विशेषगरी ३५० सिसीभन्दा माथिको मोटरसाइकल खण्डमा ब्रान्डको लोकप्रियता र स्थिर मागका कारण आगामी दिनमा व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । 

विद्युतीय मोटरसाइकलको विस्तार, नेपालमा सञ्चालनमा रहेका तथा स्थापना हुने तयारीमा रहेका अन्य मोटरसाइकल संयोजन उद्योगले प्रतिस्पर्धा थप चर्काउने कम्पनीको भनाइ छ । यद्यपि अधिकांश प्रतिस्पर्धी ब्रान्ड २५० सिसीभन्दा कम क्षमताको मोटरसाइकल बजारमा केन्द्रित रहेकाले ३५० सिसीभन्दा माथिको प्रिमियम खण्डमा रोयल एनफिल्डलाई अझै प्रतिस्पर्धात्मक लाभ रहेको कम्पनीको दाबी छ ।

कम्पनीले सरकारी नीतिगत जोखिमलाई पनि चुनौतीका रूपमा औंल्याएको छ । नेपालमा मोटरसाइकललाई विलासी वस्तु मानिने भएकाले भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर उच्च रहेको छ । हाल संयोजन उद्योगले केही कर तथा भन्सार सहुलियत पाइरहे पनि भविष्यमा सरकारी नीति परिवर्तन भए त्यसले व्यवसायमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको सीमा, आयातका लागि प्रतितपत्र खोल्दा आवश्यक मार्जिन तथा सवारी खरिद कर्जामा जोखिम भारसम्बन्धी नीतिमा परिवर्तन गर्न सक्ने भएकाले यस्ता नियामकीय व्यवस्थाले कम्पनीको व्यवसायमा प्रभाव पार्न सक्ने जनाएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको ऋण ७० करोड रुपैयाँमात्रै थियो । 

Share News