होण्डाको देशभर नयाँ सर्भिस सेन्टर विस्तार, ६ अत्याधुनिक केन्द्र सञ्चालनमा आउने

काठमाडौं । नेपालमा होण्डाका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ ।

कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।

यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन समारोहमा होण्डा मोटरका उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एसिया एण्ड ओसियाना), रिजनल अपरेसन्स् (एसोसिएटेड रिजन्स) का प्रमुख र एसियन मोटरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो । साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो ।

स्याकार ट्रेडिङ कम्पनीले होण्डाका ग्राहकहरूका लागि 'पहिलेकै मूल्यमा प्रिमियम सर्भिस' को अवधारणा अगाडि सारेको छ । यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ । कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ ।  

Share News