काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव तयार पार्न गठन गरेको समितिले (आज) मंगलबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल तथा सहमहामन्त्रीहरू उदयशमसेर राणा र योगेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।
बैठकमा सभापति थापाले संविधान संशोधनको आवश्यकता, यसको औचित्य तथा समितिको जिम्मेवारीका विषयमा विस्तृत रूपमा जानकारी गराएका थिए । उनले संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममा देखिएका केही प्रावधानहरू संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएको बताए। लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संशोधनसम्बन्धी छलफल अघि बढाउनुपर्नेमा उनले जोड दिएका थिए ।
समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार समितिले प्रारम्भमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार पार्नेछ । साथै, सरोकारवाला पक्ष, विज्ञ तथा आम नागरिकसँग व्यापक छलफल गरेर सुझाव संकलन गर्ने योजना पनि बनाइएको छ ।
सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति गठन गरी नेपाली कांग्रेसलाई समेत प्रतिनिधित्व पठाउन आग्रह गरिरहेको सन्दर्भमा कांग्रेसले आफ्नै तर्फबाट गृहकार्य सुरु गरेको हो । यद्यपि सरकारद्वारा गठित समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको सदस्य–सचिव कटुवालले जानकारी दिएका छन् ।
उनका अनुसार सरकारले शुक्रबारसम्म प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ भने कांग्रेस समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ । समितिमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्यका रूपमा रहेका छन् ।